३० आश्विन २०८३, शुक्रबार

कब्जा गर्न नसकेपछि प्रचण्ड र माधवले नेकपा फुटाए, परिणामत: आफै किनारा लागे : केपी ओली

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १४ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टी फुटाएको बताएका छन् ।

मिसन ग्रासरुट अभियानअन्तर्गत आज पाल्पाको तानसेनमा आयोजित वृहत् कार्यकर्ता भेलामा उनले पार्टी कब्जा गरेर आफूलाई एक्ल्याउने प्रचण्ड–माधवको योजना रहेको र योजना असफल भएपछि पार्टी फुटाएको बताएका हुन् ।

आफूमाथि पटक–पटक आक्रमण गर्न र बदनाम गर्न खोजेका प्रचण्ड र माधव नेपाल परिणामत: सिद्धिएको र पार्टीबाट चोइटिएर गएको भन्दै ओलीले भने, ‘पार्टी सिध्याएको बेला, पार्टी विघटन गरेको बेला, पार्टीबाट अध्यक्षलगायतका नेताहरूलाई निष्कासन गरेको बेला जुन उपलब्धि हासिल भएको छ त्यो राम्रो छ, तल–तल निष्कासन गर्न भ्याएकै थिएनन् आफैं किनारामा पुगे । माथि–माथि निष्कासन गरिसकेका थिए । पार्टी कब्जा गरिसकेका थिए, सरकार ढालिसकेका थिए । तै पनि नपुगेर पार्टी नै फुटाए ।’

जसरी हुन्छ हमला गर्ने, आक्रमण गर्ने, बदनाम गर्ने उनीहरूको रणनीति अहिले पनि जारी रहेको ओलीको भनाइ छ ।

पाल्पामा एमाले एक्लै गठबन्धनसँग लढेर ८१ वटा वडामध्ये ४१ वडा जितेको, १० वटामध्ये ६ वटा पालिका जितेको तथा त्यसमध्ये पनि दुई वटामा क्लिनस्वीप गरेको, गठबन्धनविरुद्ध एमाले एक्लैले जिल्ला समन्वय समिति गठन गरेको, संघमा शतप्रतिशत र प्रदेशमा ५० प्रतिशत अर्थात् चार मध्ये दुई वटामा जित हासिल गरेकामा पाल्पालाई ओलीले भावुक हुँदै धेरै धन्यवाद व्यक्त गरे ।

‘पाल्पाली जनताललाई जति सम्झ्यो त्यतिनै गर्व अनुभूति हुन्छ,’ ओलीले भने, ‘मैले माला बोकेर आएको छैन, नत्र भने सबैको गलामा एक–एक वटा माला लगाइदिन्थेँ । त्यति धेरै म धन्यवाद भन्न चाहान्छु पाल्पाली जनता र पार्टी संगठनलाई ।’

एमाले चौतर्फी घेराबन्दीविरुद्ध एक्लै लडिरहेको र लडिरहने प्रतिबद्धता दोहोर्‍याउँदै ओलीले कसैका आर्शीवादले एमालेलाई केही गर्न नसक्ने र एमाले सिंहझैं अघि बढिरहने बताए । उनले वर्तमान सत्ता गठबन्धनलाई स्यालहरूको बथान भएको टिप्पणी गरेका छन् ।