
काठमाडौं, १६ चैत । न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितलाई प्रहरीले टंगालमा अवरोध गरेको छ ।
टुँडिखेलस्थित खुलामञ्च जान अवरोध भएपछि पीडा सुनाउन उनीहरु बालुवाटारस्थित प्रधानमन्त्री निवास जान लागेका थिए । तर, प्रहरीले उनीहरुलाई अवरोध गरेपछि सडकमै धर्नामा बसेका छन् ।
उनीहरु आफ्ना पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाउन चाहन्छन् । बालुवाटार जान नपाएसम्म सडकमै धर्नामा बस्ने उनीहरुको भनाइ छ ।
१२ दिनदेखि पैदल हिँडेर उनीहरु सोमबाार काठमाडौंको खुलामञ्च आइपुगेका थिए । उनीहरु खुलामञ्चबाट विरोध कार्यक्रम गर्न चाहन्थे । तर, काठमाडौं महानगरपालिकाले अवरोध गरेपछि सोमबार रातभर उनी खुलामञ्च प्रवेशद्वारमै धर्नामा बसे ।
गत २ चैतमा उनीहरु महोत्तरीबाट पैदल हिँडेका थिए । ७३ जनाको समूहमा आएका उनीहरु हेटाडौं–भीमफेदी हुँदै काठमाडौ आइपुगेका थिए । उनीहरुसँग सत्केरी महिलादेखि वृद्धवृद्धा समेत सहभागि छन् ।












प्रतिक्रिया