३० आश्विन २०८३, शुक्रबार

मिसन ग्रासरुट अभियान : पनौतीमा वृहत् सरसफाई कार्यक्रम आयोजना

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, ११ चैत । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत पनौती बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ ।

नेकपा एमाले पनौती नगरपालिका ४ नम्बर वडा कमिटीको आयोजनामा मानेश्वरी बसपार्कदेखि पशुपति मन्दिरसम्म सरसफाई गरिएको हो ।

वृहत् सरसफाई कार्यक्रममा नेकपा एमाले वागमति प्रदेश कमिटी उपाध्यक्ष रामहरि सुवेदी, पनौती नगरपालिका उप–प्रमुख गीता वञ्जारा, नगर कमिटी अध्यक्ष सुरेश हुमागाईं, वडा नम्बर ४ का वडा अध्यक्ष दीपक दाहाललगायत स्थानीयको सहभागिता थियो ।

कार्यक्रममा नगर अध्यक्ष सुरेश हुमागाईंले पनौती नगरलाई स्वच्छ र सफा बनाउने अभियान ४ नम्बरबाट सुरू भएको बताउँदै नियमित रुपमा नगरपालिकाको ट्रयाक्टर फोहोर उठाउन नआएको जनताको गुनासोप्रति एमालेको ध्यानाकर्षण भएको बताए । उनले सबै टोल–टोलमा फोहोर उठाउने गाडी नियमित पठाउन नगरपालिकासँग माग पनि गरेका छन् ।

उनले पनौती पशुपति मन्दिरदेखि ईन्द्रेश्वर मन्दिरसम्म सरसफाई पर्ने पनि जानकारी दिए । आफूले गरेको फोहोरको व्यवस्थापन आफैं गर्नुपर्ने उनको भनाइ छ । फोहोर रोगको पनि भारी भएकाले आफ्नो टोल वस्ती सरसफाइमा ध्यान दिन उनले सर्वसाधारणमा आग्रह गरेका छन् ।

कार्यक्रममा वडा अध्यक्ष दाहालले सरसफाई सबैको साझा दायित्व र कर्तव्य भएको बताए । घरको फोहोर बाटो, सडक र खोलामा फालेर समस्या समाधान भएको नसम्झन उनको आग्रह छ ।

आलोचना गरेर मात्रै फोहोर नउठ्ने भन्दै उनले स्वच्छ वडा बनाउन सबै जुट्नुपर्ने बताएका छन् । फोहोरको व्यवस्थापन घरबाट नै सुरु गर्नुपर्ने वडा अध्यक्ष दाहालले बताएका छन् । उनले कुहिने र नकुहिने फोहोर वर्गिकरण गर्न आग्रह गरे ।

कुहिने फोहोरलाई आफ्नो खेतबारीमा प्रयोग गर्न, नकुहिनेलाई पनि पुन: प्रयोग गर्न अथवा नगरपालिबाट आउने ट्रयाक्टरमा हाल्न उनको आग्रह छ । जथाभावी फोहोर फाल्नेलाई कानुनी रुपमा समेत दण्डित गर्ने उनले बताए ।