
मकवानपुर, ११ चैत । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनले देशभरका युवाहरु एमालेको साथमा रहेको प्रमाणित भएको बताएका छन् ।
एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ को वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले स्ववियु निर्वाचनको परिणामबाट सबै दलहरु एकतातिर मिल्दा पनि एमाले निकट अनेरास्ववियु प्रथम स्थानमा रहनुले एमालेमा युवाहरुको विश्वास बढेको बताए ।
नेता गुरुङले भने, ‘हामीलाई एक्लो पार्नको लागि दुई महिनाको अन्तरालमा गठबन्धन टुटाउने काम भयो, यस्को असर स्ववियु निर्वाचनमा पनि देखिने होकि भन्ने डर थियो, तर देशभरका युवाहरुले एमालेलाई देखाएको विश्वासको कारण घेराबन्दी तोड्दै प्रथम बन्न सफल भयौँ, यस्ले के प्रमाणित गर्छ भने देशभरका युवाहरुमा एमालेको क्रेज बढ्दो क्रममा छ ।’
स्ववियु निर्वाचनमा स्वतन्त्र भनिएकाहरु नराम्रोसँग पराजित भएको भन्दै उनले एमालेप्रति जनविश्वास थप बढेको बताए । मिसन ग्रासरुटले एमालेप्रतिको उर्जा थप गर्ने बताउँदै गुरुङले देश बनाउने भिजन एमाले बाहेकको अरु कुनै दलसँग नभएको दाबी गरे ।
‘हामीले सरकारमा रहँदा जहिलेपनि जनताको हित, देशको विकासको लागि मात्र सोच्ने गरेका छौँ, गणितले कहिलेकाँही साथ नदिन पनि सक्छ तर यो देश बनाउने भिजन एमाले बाहेक अरुसँग छैन, एमालेसँगको भएको भिजनलाई साथ दिनेको जमात दिनानुदिन बढदै गएको छ ।’ उनले भने ।












प्रतिक्रिया