
काठमाडौं, ११ चैत । सहज र सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरण गर्न मुड्खु नाकाबाट तीन पिप्ले–ओखरपौवा रुट चल्ने फोहोर बोक्ने गाडीमा आजबाट ( शनिबार) टाइमकार्ड लागू गरिएको छ ।
तीव्र गतिमा सवारी सधान चलाउँदा दुर्घटनाको जोखिम बढ्ने देखिएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा उक्त सडकखण्डमा फोहोर बोक्ने गाडीका लागि टाइमकार्ड लागू गरिएको हो ।
स्थानीयले पनि तीव्र गतिमा सवारी साधन चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो पटक–पटक गरेका थिए । ट्राफिक प्रहरीका अनुसार मुड्खु नाकामा चालकलाई टाइमकार्ड दिइने छ र पालना भए/नभएको जाँच तिनपिप्ले र ओखरपौवा चेकपोष्टमा हुने छ ।
मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमीटर र तीन पिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडकखण्डमा प्रतिघण्टा २० किलोमीटर गति निर्धारण गरिएको छ ।
मुड्खुदेखी तीनपिप्लेसम्मको ५ किलोमीटर सडकखण्ड पार गर्न न्यूनतम १० मीनेट र तीनपिप्लेदेखि ओखरपौवासम्मको ८ किलोमीटर सडकखण्डमा न्यूततम २५ मीनेट समय निर्धारण गरिएको छ ।
तोकिएको स्थानमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
टाइमकार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्य स्थानमा छिटो पुग्नका लागि तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्तीलाई निरुत्साहित गर्नेछ । सहज र सुरक्षित यात्राको लागि टाइमकार्डका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई एसएसपी भट्टले अनुरोध समेत गरेका छन् ।












प्रतिक्रिया