
काठमाडौं, १० चैत । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बिचौलियाको रुपमा काम गर्ने एकजना महिलालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओखलढुङ्गाको चिशंखुगढी नगरपालिका–९ घर भइ हाल काठमाडौँको गोठाटार बस्दै आएकी २३ वर्षीया मनिता राईलाई ट्राफिक प्रहरीले हिजो बिहीबार नियन्त्रणमा लिएको हो ।
यातायात कार्यालयमा आउने सेवाग्राहीहरूलाई छिटो छरितो तरिकाले काम गरिदिन्छु भन्दै रकम समेत लिने उद्देश्यले राईले बिचौलियाको रूपमा काम गरेको पाइएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाईबाट खटिएको टोलीले बिहीबार दिउँसो सेवाग्राहीका ३ थान सवारीचालक अनुमतिपत्रसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएकी उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएकामा जिल्ला प्रशासन कार्यालयबाट आज शुक्रबार सात दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।
यस्ता खालका गैरकानुनी कार्य रोक्नका लागि सेवाग्राहीहरू समेत सचेत हुनुपर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।















प्रतिक्रिया