
काठमाडौं, ५ चैत । नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले जिम्मा लिएर तत्काल निर्माण कार्य सुचारु गर्न माग गगरेका छन् ।
आज आइतबार प्रतिनिधि सभाको शून्य समयमा आफ्नो धारणा व्यक्त गर्दै उनले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको र हाल बजेट अभावमा रोकिएको आयोजना तत्काल सुरु गर्न माग गरेका हुन् ।
‘चितवनमा धुर्मुस सुन्तलीले बनाएको रंगशाला बेवारिसे भएर बसेको छ । त्यसलाई सरकारले तुरुन्त लिनुपर्यो र त्यसलाई तिर्नुपर्ने पैसा तुरुन्त तिरेर त्यसको निर्माण सुरु गर्नुपर्यो । त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रङ्गशालालाई बिस्तार गर्नुपर्यो र मुलपानीको रंगशालालाई बनाउनुपर्यो,’ उनले जोडदारका साथ भने । सांसद पन्तले खेलाडीबाट अपेक्षा गर्ने खेलाडीले जितेको बेलामा एक दुई लाख रुपैयाँ दिएर अघिपछि भने सरकारले कानमा तेल हालेर बस्ने काम गरेको बताएका छन् ।
‘खेलाडीलाई जन्माउने भनेको आधारभूत संरचनाहरु, रंगशालाहरु बनाउनुपर्यो । महिला टोलीले सार्कमा जितेर आए उनीहरुले माग गरेका थिए महिलाहरुका लागि एउटा भलिबल रंगशाला बनाइदेउ भनेर तर त्यसमा सरकारको तातो लागेको छैन । त्यसैले क्रिकेटमा हाम्रो सम्भावना छ । महिला भलिबलमा हाम्रो सम्भावना छ, सार्क फुटबलमा हाम्रो सम्भावना छ । यस्ता सम्भावना भएका खेललाई अगाडि बढाउन सकिएको छैन,’ उनले भने ।















प्रतिक्रिया