
काठमाडौं, ३ चैत । मंसिर ४ गतेको निर्वाचनपछि सबैजसो राजनीतिक दलहरू केन्द्र तथा प्रदेशमा सत्ता समीकरण बनाउने र भत्काउने खेलमा व्यस्त बनिरहेका बेला नेकपा एमाले भने ‘मिसन ग्रासरुट’ अभियान लिएर गाउँ–गाउँ र टोल–टोलमा पुगेको छ ।
पार्टीलाई सुदृढ र विस्तारित बनाउनका लागि देशभर एकसाथ सञ्चालन गरिएको अभियान पछिल्ला दिनहरूमा केन्द्रीय नेताहरूको साथमा गाउँ–गाउँ र टोल–टोलमा पुगेको हो ।
अभियानले पार्टीभित्र रहेको गुटबन्दी, नेताहरूबीच भएको असन्तुष्टि हटाएर पार्टीलाई एकढिक्का बनाउँदै पार्टी सदस्यता विस्तारमा महत्वपूर्ण काम गरिरहेको बताइएको छ ।
पाल्पा
नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अभियानअन्तर्गत पाल्पाको तानसेन नगरपालिकाको वडा नम्बर २, ३ र ४ को संयुक्त बैठक एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

पोलिट्ब्यूरो सदस्य भट्टराई, केन्द्रीय सल्लाहकार सदस्य कुल प्रसाद नेपाल, जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे र प्रदेश कमिटी सदस्य रामबहादुर राउतले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा ग्रासरुट अभियान सफल पार्नकालागि विभिन्न योजनाहरू निर्माण गर्नुका साथै जिम्मेवारी बाँडफाँड गरेको छ । कार्यक्रममा २०५ जना नेता कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो ।
बागलुङ
नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य जगत विश्वकर्माले चुनावमा जनताले पार्टी रोज्दा एमाले रोज्ने तर प्रत्यक्षमा एमालेका उमेदवार पराजित हुने अवस्थाको मिसन ग्रासरुट अभियानमा समिक्षा गर्नु पर्ने बताउनुभएको छ । मिसन ग्रासरूट अभियानअन्तर्गत बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ मा आयोजित कार्यक्रममा विश्कर्माले निर्वाचनमा समानुपातिकतर्फ जनताले एमालेलाई पहिलो पार्टी बनाएका तर, प्रत्यक्षमा थोरै मतको अन्तरमा धेरै ठाउँमा एमालेका उमेदवार पराजित भएका धारणा व्यक्त गर्नुभयो ।

पार्टीभित्र दक्षिणपन्थी अवसरवाद बेला बेलामा प्रकट हुने गरेको उहाँको भनाइ छ । पार्टीमा समस्या माथि देखि नै आएको चर्चा गर्दै उहाले व्यक्तिगत स्वार्थ, कुण्ठा र प्रतिसोधले मानिस गलत बाटोमा लाग्ने बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले पार्टी भित्रका आन्तरिक समस्याहरूलाई समाधान गरेर मिसन ग्रासरुट अभियानसंगै एकीकृत, सुदृढ र सशक्त पार्टीका रूपमा एमालेलाई स्थापित गर्न सम्पूर्ण नेता कार्यकर्ताहरू उच्च मनोवलका साथ लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य गिता शर्मा, गण्डकी प्रदेश कमिटी सदस्यहरू हुमा कुमारी जिसी (अञ्जु), हरिनारायण गौतम, राम बहादुर जिसी, जिल्ला सचिवालय सदयहरू प्रेम लामिछाने, दिपक गौतम, नेत्र बहादुर विष्ट, हुमादेवी खड्का लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
म्याग्दी
नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य मनकुमारी केसीले ग्रासरुट अभियानमार्फत एमालेलाई पहिलो पार्टी बनाउने बताउनुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–५ कमिटीले पुलाचौरमा आयोजना मिसन ग्रासरूट अभियानअन्तर्गतको वडाकमिटी बैठकलाई सम्बोधन गर्दै केसीले अभियानले पार्टीलाई थप सशक्त र बलियो बनाउने बताउँदै अभियानअन्तर्गत तल्लो तहबाटै पार्टीको सुदृढीकरण गरी बलियो र पहिलो नम्बरको पार्टी बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो ।

पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताकोबीचमा पार्टी, कार्यकर्ता र जनताबीचको सम्वन्धलाई प्रगाढ बनाउने पनि अभियानको उद्देश्य रहेको उहाँले बताउनुभयो । अभियानमा पार्टी सदस्यता नवीकरण तथा विस्तारको साथै जनताका समस्या, गुनासा र अपेक्षाहरूसमेत सङ्कलन गरिने बताउँदै पोलिट्ब्यूरो सदस्य केसीले मिसन अभियानले विगतमा भन्दा पार्टीलाई अझ बलियो बनाउन आवश्यक भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
मिसन ग्रासरुट अभियानमार्फत युवा, महिला र ज्येष्ठनागरिक सबैलाई एमालेमा आबद्ध गराइने उहाँले बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले मिसन ग्रासरुट देशव्यापी रूपमा पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको रूपमा सञ्चालन भैरहेको बताउनुभयो ।
धादिङ
मिसन ग्रासरुट अभियानअन्तर्गत धादिङ जिल्लाका विभिन्न वडाहरूमा विस्तारित बैठक सञ्चालन भइरहेका छन् । यसैबीच, गंगाजमुना गाउँपालिका वडा नम्बर २ को तावलमा पार्टीको वडास्तरीय विस्तारित बैठक तथा भेला सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा वडा स्तरीय विस्तारीत बैठक सम्पन्न भएको नेकपा एमाले गंगाजमुना गाउँपालि कमिटीका अध्यक्ष भक्तबहादुर लामीछानेले जानकारी दिनुभयो ।
वडा स्तरको भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य श्रेष्ठले नेकपा एमाले पार्टी गरिब, मजदुर, किसान, महिलाको पार्टी भएकोले यस पार्टीप्रति सबैको भरोसा रहेको बताउनुभयो । एमाले पार्टीले मात्रै राष्ट्रियता र अखण्डताको सुरक्षा गर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।
बैठकमा एमाले प्रदेश कमिटी सदस्य ध्रुब विक, जिल्ला कमिटी सचिव अर्जुन श्रेष्ठ, जिल्ला कमिटि सदस्य बलबहादुर अधिकारी, बाबुराम न्यौपाने, गंगाजमुना गाउँपालिका कमिटीका अध्यक्ष भक्तबहादुर लामिछाने लगायत नेताहरूले सम्बोधन गर्दै वृहत अभियानमा सहभागी हुन पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । बैठकले टोलकमिटी गठन गर्ने, वडा स्तरमा किसान, विद्यार्थी, युवा लगायतको जनसंगठन निर्माण गर्ने, पार्टी सदस्यता नवीकरण तथा नयाँ वितरणका लागि विस्तारिते कार्ययोजना पनि बनाएको छ ।
धादिङ
यसैबीच, धादिङकै नीलकण्ठ नगरपालिकामा वडा नम्बर ७ मा पनि वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । केन्द्रीय सदस्य कैलाश ढुंगेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै ढुंगेलले एमाले पार्टी मात्रै जनताको पार्टी भएकोले सम्पूर्ण जनतालाई नेकपा एमालेमा गोलबद्ध गराउनुपर्ने बताउनुभयो ।
यो समय नेकपा एमालेको लागि बाली लगाउनु अगाडि माटो तयार गरे जस्तैको समय भएकाले अबको निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउन आजदेखि नै कार्याकर्ताको घरघरमा जानुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । बैठकलाई प्रदेश कमिटी सदस्य नरेश खतिवडा, ईश्वरी अधिकारी, जिल्ला उपसचिव राधिका सापकोटा, जिल्ला सदस्य भरत ढुंगाना र नीलकण्ठ नगरकमिटी अध्यक्ष हरि श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।
रामेछाप
मिसन ग्रासरूट अभियानअन्तर्गत रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ को वडा भेला एवं प्रशिक्षण कार्यक्रम बेथानमा सम्पन्न भएको छ । केन्द्रीय सदस्य कपिल पोख्रेलको प्रमख आतिथ्यतामा सम्पन्न भेलाले वडाका नौ वटै टोलमा टोल कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि बैठकले कार्य विभाजन समेत गरेको छ ।

कार्यक्रममा पोखरेलले विश्व कम्युनिष्ट आन्दोलन, नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, कम्युनिष्ट पार्टीको विगत, वर्तमान र भविष्य, जनताको बहुदलीय जनवादको मार्गदर्शन र समाजवादको यात्राको बारेमा प्रशिक्षण दिनुभएको थियो । बैठकमा वाग्मती प्रदेश कमिटी सदस्यहरू टंक चौलागाईं र श्यामकृष्ण श्रेष्ठले पनि प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो । पार्टी शुद्धीकरण र सदस्यता नवीकरण तथा नयाँ सदस्यको आवेदन संकलनको काम सुरु गरिएको नेकपा एमाले सुनापति गाउँ कमिटी संगठन विभाग प्रमुख राज मैनालीले जानकारी दिनुभएको छ ।
कास्की
मिसन ग्रासरुट अभियानअन्तर्गत नेपाल राष्ट्रिय उत्पीडित मुक्ति समाज कास्कीको बैठक पोखरामा सम्पन्न भएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उप सचिव रश्मि आचार्यको प्रमुख आतिथ्य र कास्कीका अध्यक्ष वलराम विश्वकर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्नुहुँदै उपसचिव आचार्यले देशको समृद्धिको वाहक, देश भक्तिपूर्ण आन्दोलनको अभियन्ता र जनताको भरपर्दो सारथी एमाले नै रहेको बताउँदै मिसन ग्रासरुट अभियानमा यी कुराहरूको जनस्तरसम्म प्रचार गर्न मुक्ति समाजका सम्पूर्ण सदस्यहरूलाई आग्रह गर्नुभयो ।
बैठकमा मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य दाम बहादुर बिश्वकर्मा, नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, मुक्ति समाजका केन्द्रीय नेताहरू प्रेमदेवी परियार लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । बैठकले चैत्र १८ गतेभित्र पालिका बैठक, २५ भित्र वडा बैठक तथा भेला, युवा तथा महिला भेला गर्ने, सदस्य विस्तार गर्ने, पार्टी प्रवेश अभियान चलाउने लगायत कार्ययोजना निर्माणसमेत गरेको छ ।
बाँके
नेकपा (एमाले) बाँके जिल्ला कमिटी उपाध्यक्ष डिल्ली बि.सीको लेखन, संकलन तथा सम्पादनमा तयार पारिएको पुस्तक गन्तव्य मिसन ग्रासरुट अभियानका केन्द्रीय नेताहरूलाई हस्तान्तरण गरिएको छ । केन्द्रीय प्रतिनिधिको रूपमा खटिनुभएका केन्द्रीय सदस्यद्वय लक्ष्मण ज्ञवाली र भिम केसीलाई प्रशिक्षणमूलक पुस्तक उपाध्यक्ष बीसीले हस्तारण गर्नु भएको हो ।

लेखक बीसी नेकपा (एमाले) बाँकेका स्कुल विभाग प्रमुख पनि हुनुहुन्छ । पुस्तकमा पार्टी विधानमा व्यवस्था भए अनुसारका प्रावधान, जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली समाजको मौलिक कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज), लेलिनवादी संगठनात्मक सिद्धान्त, जनवर्गिय संगठन सञ्चालन निर्देशिका, नेतृत्व विकास जस्ता प्रशिक्षणमूलक विषयवस्तु सहितको संगालोको रूपमा पुस्तक तयार पारिएको उपाध्यक्ष बीसीले जानकारी दिनुभयो ।
पुस्तक विशेषगरी मिसन ग्रासरुटमा पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र नेतृत्व क्षमता बृद्धिका लागि प्रशिक्षकलाई सहयोगी हुने सामग्री रहेका छन् । पुस्तक ग्रहण गर्दै केन्द्रीय सदस्य केसीले यसले अभियानमा सहयोगी हुने र अध्ययनको संस्कारलाई बृद्धि गर्ने बताउनुभयो ।
लमजुङ
मिसन ग्रासरूट अभियानअन्तर्गत नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग लमजुङको पहिलो बैठक बेसीशहरमा सम्पन्न भएको छ । नेकपा एमाले प्रचार तथा प्रकाशन नेकपा एमाले लमजुङका सचिव शुभाष पौडेलको प्रमुख आतिथ्यता र विभागका प्रमुख कृष्ण केसीको अध्यक्षता बैठडक सम्पन्न भएको हो ।
बैठकले मिसन ग्रासरुट अभियानमा सहयोग गर्ने, पार्टी गतिविधिलाई संचार माध्यमसम्म ल्याउनका लागि थप समन्वय गर्ने, नयाँ बर्ष २०८० को पकेट क्यालेण्डर प्रकाशन गर्ने, मिसन ग्रासरुट अभियानलाई थप प्रभावकारी बनाउन प्रचार विभागका उपप्रमुख कृष्ण आले र सदस्य अनुज अधिकारीलाई फोकल पर्सन तोक्ने, पार्टी र संचारकर्मीबीच अन्तरसंवाद कार्यक्रम आगामी बैशाख ९ गते शनिबार गर्नेे लगायतका निर्णय गरेको छ ।
कालिकोट
मिसन ग्रासरूट अभियानअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पालिका सभा दल गठन भएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहने गरि पालिका सभादल गठन गरिएको हो ।

सान्नी त्रिवेणी गाउँपालिकाका नागरिकहरूको हक हितका लागि र जनपक्षिय रूपमा काम गर्नका लागि पालिका सभादल गठन गरिएको जानकारी दिइएको छ । सभादलमा गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्याल सभादलको प्रमुख तथा संयोजक रहनु भएको छ भने सचेतकमा सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष बैकुण्ठराज गिरी रहनुभएको छ ।















प्रतिक्रिया