
काठमाडौं, ३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारीहरूको गठजोड भएको र कसैलाई पनि कारबाही गर्न नसक्ने बताएका छन् ।
आज शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनभित्र एक–अर्काको बारेमा औंला उठाउने ठाँउ नभएको र आफ्ना–आफ्ना मिलेर नै भ्रष्टाचार गरिरहेको बताउँदै भ्रष्टाचार गर्ने कसैलाई पनि कारबाही गर्ने सामर्थ्य यो सरकारसँग नभएको बताएका हुन् ।
कसैलाई कारबाही गर्न खोज्यो भने सरकारमा बस्नेहरूलाई नि अरूले तपाइँ चाहिँ ? भनेर प्रश्न सोध्ने भन्दै अहिलेको सरकारमा रहेकाहरू सबै भ्रष्टाचारमा लिप्त रहेको तर्क ओलीको छ ।
‘यसो हेर्छ तपाइँलाई कारबाही गर्न पर्यो भन्यो भने तपाइँलाई नि भन्ने उत्तर आउँछ । तपाइँलाई नि त भनेर सोध्ने गर्छन । तपाइँको श्रीमतीले भ्रष्टाचार गर्नुभयो नि भन्दा तपाइँले छोरीमार्फत गर्नुभयो भन्ने उत्तर आउँछ,’ अध्यक्ष ओलीले भने, ‘त्यसैले यो सरकारले कसैलाई पनि कारबाही गर्न सक्दैन । जसका कारण देशको आर्थिक अवस्था तहसनहस हुन लागिसक्यो, एमालेले छोडेपछि यस्तो अवस्था आयो ।’
एमाले सरकारबाट हटेकै कारण डेढ वर्षमा अर्थतन्त्र, राजनीति र समाजिक अवस्था निकै नाजुक भएको ओलीको भनाइ छ ।















प्रतिक्रिया