
काठमाडौं, ३ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ ।
निर्वाचित भएलगत्तै आयोगले यादवलाई प्रमाणपत्र प्रदान गरेको हो । यादवलाई निर्वाचन अधिकृतको कार्यालय, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी नियमावली, २०७४ को नियम ४१ बमोजिम निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भएका थिए । दाहालले यादवलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबै पक्षमा निर्वाचन आयोगले धन्यवाद ज्ञापन गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन २०७९ चैत ५ गते आइतबार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया