
जुम्ला, २ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा एमालेसँग गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग गठबन्धन गर्नुका परिणामहरु देखिन थालेको बताएका छन् ।
पार्टीको मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ उमगाठमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यसका दूरगामी प्रभावहरु अझै बढ्दै जाने बताएका छन् ।
‘हामीसँगको समीकरण तोडेर कांग्रेससँग समीकरण बनाउनासाथ प्रचण्डले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय गरे । अहिले चीनमा हुने बोआओ सम्मेलनको औपचारिक निम्ता अस्वीकार गरेर भारत भ्रमणमा जान पाउँ भनेर निवेदन हालिरहेका छन् । यसबाट उनको सत्ताको चाबी कहाँ छ र उनले कसका लागि काम गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ,’ रिजालले भने ।

चुनावअघि दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भएको सहमति कार्यान्वयन गर्यौँ भनेर रिपोर्ट बुझाउनका लागि प्रचण्ड भारत जान हतारिएको हुनसक्ने रिजालको अनुमान छ ।
वडाका अगुवा कार्यकर्ताहरु सहभागी रहेको उक्त कार्यक्रममा नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरतबहादुर शाही, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकायलयायत नेताहरूको आतिथ्यता र सयौँ कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।















प्रतिक्रिया