
काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ ।
काठमाडौंको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
आजको खेल नेपालका लागि महत्वपूर्ण रहेको छ । नेपालविरुद्ध खेल्न लागेको यूएईका लागि भने आजको खेल एक प्रतिष्ठाको लडाइँ मात्र रहेको छ । लिगको छैठौं स्थानमा रहेको यूएईको ३५ खेलमा ३३ अंक रहेको छ । यसअघि लिग अन्तर्गत २८ फागुनमा भएको खेलमा यूएई नेपालसँग १७७ रनले पराजित भएको थियो ।
जितका लागि २४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाएर अलआउट बनेको थियो । युएईमाथिकै जितमा नेपालले एकदिवसीय मान्यता जोगाएको थियो । आजको खेलमा नेपाललाई हराउँदै सिधै विश्वकप छनोटमा जान रोक्ने तयारीका साथ यूएई मैदानमा उत्रनेछ ।
यता नेपालले यूएईलाई हराउँदै जित हात पारे लिग २ को शीर्ष तीनमा स्थान बनाउँदै सिधै जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । तर यूएईविरुद्धको खेल हारे नामिबियाले विश्वकप छनोटमा सिधै स्थान बनाउने छ । यसकारण नेपालका लागि आजको खेल महत्त्वपूर्ण र जित्नै पर्ने दबाब रहेको छ ।
लिग २ को ३५ खेल खेल्दै नेपाल ३८ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ भने नामिबिया लिगको सबै खेल खेल्दै ३९ अंकसहित तेस्रो स्थानमा रहेको छ । आजको अन्तिम खेलमा यूएईलाई हराए ४० अंकसहित नेपाल लिगको शीर्ष तीनमा स्थान बनाउँदै सिधै विश्वकप छनोटमा स्थान बनाउनेछ ।
लिगमा सबै खेल खेल्दै स्कटल्यान्ड ५० अंकसहित च्याम्पियन बनिसकेको छ भने सबै खेल खेल्दै दोस्रो बनेको ओमानसँग ४४ अंक रहेको छ । लिगको च्याम्पियन बनेको स्कटल्यान्ड र दोस्रो बनेको ओमानले विश्वकप छनोटमा स्थान बनाइसकेको छ ।
आजको खेलमा नेपालले जित हात पार्न सके तेस्रो बन्दै विश्वकप छनोटमा स्थान बनाउने छ भने पराजित बने नामिबिया तेस्रो बन्दै विश्वकप छनोटमा स्थान बनाउने छ । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै विश्वकप छनोटमा स्थान बनाउने हुँदा आज नेपालका लागि लिगको अन्तिम खेल महत्वपूर्ण रहेको छ ।
यसैबीच, आज हुने खेलको टिकट बिक्री बापत उठेको सबै पैसा खेलाडी कल्याणकारी कोषमा जम्मा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज हुने नेपाल र यूएईबीचको खेलका लागि टिकट बिक्रीबाट आउने सबै पैसा कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कल्याणकारी कोषको रकम खेलाडीको हित र अत्यावश्यक काममा खर्च हुने गरेको छ ।















प्रतिक्रिया