
काठमाडौं, १ चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न गएको प्रहरी र खानका समर्थकबीच खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् ।
पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेकाा छन् । गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पिटिआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घर नजिक झडप भएको थियो ।
प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकहरूले ढुङ्गामुढाले प्रतिकार गरेका थिए । पिटिआईका एकजना कार्यकर्ताका अनुसार पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दै आएका सुरक्षाकर्मीले गोलीसमेत हान्न थालेका बताएका छन् ।
गत वर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ । उनले आम निर्वाचनको माग गर्दै आएका छन् ।
सार्वजनिक रूपमा सरकारका कटु आलोचना गर्दै आएका खानमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप लगाइएको छ ।















प्रतिक्रिया