
काठमाडौं, १ चैत । रासायनिक मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै राष्ट्रिय पजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
अनुदान कटौती गर्ने सरकारको निर्णय किसान विरोध रहेको भन्दै उनीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले हाम्रो खुसी अन्न र उपज, हाम्रो उत्पादनमा मलको सहज, खेत त जोगियो, मल बिउ कहाँ छ ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरुले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् । चेकजाँच नगरी भारतीय तरकारी भित्र्याएर किसानको उत्पादनलाई महत्व नदिने, रासायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यबृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताए ।
अहिले सांकेतिक बिरोधमात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि संगठनले दिएको छ । यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो ।















प्रतिक्रिया