
सुर्खेत, ३० फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालका कम्युनिष्टहरु मिलेको हेर्न नचाहाने विदेशी शक्तिका कारण माओवादीसँगको गठबन्धन भत्किएको बताएका छन् ।
एमालेको मिसन ग्रासरूट अभियानअन्तर्गत मंगलबार सुर्खेतको गुभार्कोटमा आयोजित नगस्तरीय प्रशिक्षण कार्यक्रममा सचिव भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालका कम्युनिष्ट मिलेको हेर्न नचाहाने विदेशी शक्तिहरूका कारण गठबन्धन भत्किएको बताएका हुन् ।
कम्यनिष्ट गठबन्धन भत्काएर प्रचण्ड प्रतिक्रियावादीको सेवक बनेको आरोप सभिव भट्टराईको छ । एमालेसहित बनेको गठबन्धन भत्काउन षडयन्त्र भएको भन्दै अँध्यारो कोठाभित्र भएका षडयन्त्रहरु चाँडै खुल्ने उनले दाबी गरेका छन् ।
उनले एमालेले कुनै विदेशी शक्तिको नुन खाएर भक्तिभाव नगर्ने पनि प्रष्ट पारेका छन् । नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि नेकपा एमालेले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको सचिव भट्टराईको बताए । उनले निर्वाचनदेखि नै एमालेविरुद्ध घेराबन्दी गर्न खोजे पनि जनतामाझ लोकप्रिय पार्टीका रुपमा स्थापित भएको उल्लेख गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य धर्मराज रेग्मीले विगतमा एमाले सरकारमा जाँदा गर्व गर्नलायक काम गरेको भन्दै एमाले पार्टीको सदस्य भएकोमा गर्व गर्न आग्रह गरे । समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नका लागि आगामी निर्वाचनबाट एमालेलाई दुईतिहाईसहित सरकारमा पुर्याउन आवश्यक रहेको रेग्मीको भनाइ छ ।
जनताका मुद्दा बोक्ने एमाले मात्रै एकल पार्टी भएको भन्दै उनले काँग्रेस, माओवादीलगायत अरु दलहरु आफ्नै स्वार्थमा रुमलिएको जिकिर गरे ।
कार्यक्रममा पूर्वसांसद धुवकुमार शाही, एमाले सुर्खेतका कार्यवाहक अध्यक्ष कुलमणि देवकोटालगायतले मिसन ग्रासरूट अभियानले पार्टी जीवन्त बनाउने बताए । कार्यक्रम कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएबापत २० जना अग्रजलाई सम्मान गरिएको थियो ।















प्रतिक्रिया