
काठमाडौं, ३० फागुन । नेपालको चर्चित व्यापारिक समूह एमभी दुगड ग्रुपले इन्डोनेसियन ब्राण्डका विद्युतीय सवारी साधन नेपाल भित्र्याएको छ ।
ग्रुपअन्तर्गत विवेक अटोमोबाइल्सले इन्डोनेसियाको चर्चित टू–ह्वीलर्स ब्राण्ड जीईएसआईटीएसका स्कुटरहरू नेपाल भित्र्याएर एमभी दुगड ग्रुपले विद्युतीय सवारी साधनको क्षेत्रमा प्रवेश गरेको हो ।
यसैक्रममा विवेक अटोमोबाइल्सलेले सोमबार पहिलोपटक इन्डोनेसियन कम्पनीका तीन वटा रङका स्कुटरहरू सार्वजनिक गरेको छ । नक्सालस्थिर सोरूममा आयोजित विशेष कार्यक्रममार्फत नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ती स्कुटरहरूको सार्वजनिकीकरण गरेका हुन् ।

ग्राहकहरूको माग, चाहना र आवश्यकतालाई दृष्टिगत गर्दै एमभी दुगड ग्रसपले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो उपस्थिति जनाएको एमभी दुगड ग्रुपकी जनसम्पर्क प्रमुख बिमला थापाले जानकारी दिइन् । उनका अनुसार पहिलो चरणमै कम्पनीले विश्व प्रख्यात इन्डोनेसियन ब्राण्डका स्कुटर नेपालमा ल्याएर सार्वजनिक गरेको हो ।
कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगड़, उपाध्यक्ष विवेक दुगड, डाइरेक्टर विजय महतो र जीईएसआईटीएस ब्राण्डको एमभी दुगड ग्रुप नेपालका लागि प्रमुख कनक जमरको उपस्थिति थियो ।
कस्तो हो जीईएसआईटीएस स्कुटर ?
जीईएसआईटीएस अर्थात् गारानसिन्डो इलेक्ट्रिक स्कुटर– आईटीएस इन्डोनेसियामा इलेक्ट्रिक पावरमा चल्ने पहिलो स्वचालित स्कुटर–प्रकारको मोटरसाइकल हो । जीईएसआईटीएस परियोजना पीटी गारानसिन्डो र आईटीएस बीचको सहकार्य हो । यसमा प्रमुख लगानी इन्डोनेसियन सरकारको रहेकाले विश्वासिलो कम्पनी भएको दाबी गरिएको छ ।

जीईएसआईटीएस स्कुटरमा पाँच किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ भने ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री रहेको छ । एक पटकको पूरा चार्जमा १०० किलोमिटरको दूरी पार गर्नसक्ने ब्याट्री पूर्ण चार्ज हुन ९० मिनेट मात्र लाग्छ । ब्याट्रीमा ब्याट्री बीडीएमएसले सुसज्जित छ, जसले ओभर चार्जिङ प्रोटेक्सन, ओभर डिस्चार्जिङ प्रोटेक्सन, ओभर करेन्ट प्रिभेन्सन, टेम्प्रेचर कन्ट्रोल, सर्ट–सर्किट प्रिभेन्सन र सेल इक्वलाइजेसन गर्न समेत मद्दत गर्छ ।
जम्मा आठ किलोग्रामको मात्रै भएकाले यो ब्याट्रीलाई सहजै बोकेर एक ठाउँबाट अर्को ठाउँमा पनि पुर्याउन सकिन्छ । चार्ज गर्दा चार्जिङ गतिविधि ट्रयाक गर्न धेरै सजिलो बनाउने कम्पनीको भनाइ छ । स्मार्ट एलईडी ब्याट्रीको ग्यारेन्टी तीन वर्षको छ । यसले पूर्ण रूपमा चार्ज गर्न १.३ युनिट विद्युत् खपत गर्ने जानकारी कम्पनीले दिएको छ ।

यी स्कुटरहरू आधुनिक दुई डिस्क ब्रेक सुविधाहरूले सुसज्जित छन् र ब्रेकिङ्ग गर्दा ब्याट्री स्वचालित रूपमा रिचार्ज हुनेछ । प्रत्येक मोटर प्रणाली सिधै एन्ड्रोइड ओएसमा जडान हुन्छ । प्रयोगकर्ताहरूले आफ्नो स्मार्टफोनमार्फत गति, आरपीएम, तापक्रम र भोल्टेज निगरानी गर्न सक्दछन् ।
स्कुटरको चेसिस बडीमा एक इन्च व्यासको ट्युबुलर स्टिल र कालो फाइबर प्लास्टिक प्रयोग गरिएको छ । अगाडिको डिजाइन शार्क स्नाउट र एचआईडी हेड ल्याम्प रहेको छ । राइडर र यात्रुका लागि गुणस्तरी र आरामदायी सिटहरू रहेका छन् । एलईडी टेल ल्याम्प, बेल्ट ड्राइभ, डबल डिस्क ब्रेक, रियर मोनो शक, डिजिटल ड्यासबोर्ड, पञ्च फुट रेस्ट आदि यो स्कुटरमा रहेका छन् ।
सिंगल र डबल ब्याट्रीका आधारमा दुईवटा भेरियन्टमा इन्डोनेसियन स्कुटर नेपालमा उपलब्ध छन् । जसअन्तर्गत सिंगल ब्याट्री भएको स्कुटरको मूल्य नेपाली बजारमा तीन लाख ४९ हजार ९०० रुपैयाँ र डबल ब्याट्री भएको स्कुटरको मूल्य चार लाख १० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

जीईएसआईटीएस स्कुटरका विशेषताहरू
१. स्कुटर रातो, सेतो र कालो गरी ३ वटा रंगमा उपलब्ध छ ।
२. नेपालमा उपलब्ध भएको अहिलेसम्मको सबै भन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर हो ।
३. अन्य स्कुटरमा नभएको मोनो शक यस स्कुटरमा रहेको छ । जसले गर्दा ग्राभेल सडक तथा खाल्डाखुल्डी बाटोमा चलाउँदा समेत बढी लचकता हुने भएकाले आनन्दको महसुश हुन्छ ।
४. नेपालमा उपलब्ध स्कुटरमध्ये सबैभन्दा शक्तिशाली विद्युतीय स्कुटर हो । नेपालका हिमाल, पहाड तथा तराइका क्षेत्रहरूका लागि उपयुक्त रहेको छ । अन्य स्कुटरमा नभएको ड्राइभ बेल्ट यसमा रहेको छ ।
५. स्कुटरको ब्याट्री छुट्याउन मिल्ने भएकाले चोरी हुनबाट जोगाउन निकालेर सुरक्षित स्थानमा राख्न सकिनाका साथै चार्ज गर्न सजिलो छ ।
६. दुई वटा डिशब्रेक जडान गरिएको छ ।















प्रतिक्रिया