३० आश्विन २०८३, शुक्रबार

मिसन ग्रासरुट अभियानको सन्देश : एमाले बलियो शक्ति नबने मुलुक जोगाउनै मुश्किल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । नेकपा एमालेले पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ सञ्चालन गरेर देशमा एमाले बलियो शक्ति नबने मुलुक जोगाउनै मुश्किल पर्ने सन्देश जनस्तरमा पुर्‍याएको छ ।

पार्टीले सञ्चालन गरेको दुई महिने अभियानअन्तर्गत अहिले पार्टीका केन्द्रीय नेताहरू जिल्ला, पालिका र वडा हुँदै टोल–टोलसम्म पुगिरहेका छन् । उनीहरूले पार्टीका नीति, योजना र उद्देश्यबारे तल्लो कमिटी र जनताको तहसम्म मसिनो ढंगबाट बुझाउने काम गरिरहेका छन् ।

सप्तरी

नेकपा एमालेको संगठन सुदृढ़ीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत देशभर विविध गतिविधि भइरहेका छन् ।

यसैक्रममा नेकपा एमाले जिल्ला कमिटी सप्तरीद्वारा आयोजित मिसन ग्रासरुट अभियानअन्तर्गत जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय कमिटी सचिव तथा मधेश प्रदेश इञ्चार्ज रघुवीर महासेठ, स्थाई कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, पोलिटब्युरो सदस्य रामदयाल मण्डल, केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला सह–इञ्चार्जद्वय राजकुमार लेखी र सरिता गिरी यादवलगायत नेताहरूको आतिथ्यता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकार र सत्तारुढ दश दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको र अस्थिरता निम्त्याएको बताउनुभयो । वर्तमान गठबन्धनले विकास निर्माणमा अवरोध पुर्‍याएको तथा राष्ट्रिय स्वाभिमान र स्थिरता कमजोर बनाएको उहाँको धारणा छ ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, पालिका कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य र जननिर्वाचित प्रतिनिधिहरूको सहभागिता थियो ।

काठमाडौं

मिसन ग्रासरुट अभियानअन्तर्गत नेपाल उद्योग तथा व्यवसायी महासंघको काठमाडौंमा उपलब्ध केन्दीय सदस्यहरूको बैठक सम्पन्न भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पाण्डेले मुलुक गम्भीर संकटबाट गुज्रिएको र एमालेलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै पार्टी सचिव गोकर्ण विष्टले मुलुकलाई अस्थिरतामा लैजान खोज्ने देशी तथा विदेशी शक्तिहरूको दुष्चक्रबाट जोगाउँदै विकास र समृद्धिको अभियानलाई निरन्तरता दिने प्रयासमा एमाले अग्रसर रहेको बताउनुभयो । एमालेलाई बलियो, सुदृढ, व्यवस्थित र थप सशक्त बनाउनकै लागि पार्टीले देशव्यापीरूपमा मिसन ग्रासरूट अभियान सञ्चालन गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । उहाँले अभियानमा सैद्धान्तिक र वैचारिक रूपमा छलफल चलाउने र पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि तय गरेको कार्यदिशामा लाग्न अभियान प्रभाकारी हुने बताउनुभयो ।

बैठकमा स्थायी कमिटी सदस्यहरू काशिनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य आनन्द प्रसाद पोखरेल, केन्द्रीय सदस्यद्वय रचना खड्का र केशव पाण्डेलगायतको उपस्थिति थियो ।

गण्डकी

नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले देशको समृद्धिको यात्राका लागि पार्टीको संगठन सुदृढ़ीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट कोसेढुंगा सावित हुने बताउनुभएको छ ।

पोखरामा आज प्रेस चौतारी नेपालको गण्डकी प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै प्रचार विभाग प्रमुख समेत रहनुभएका गुरूङले मिसन ग्रासरूटले पार्टीभित्र रहेको अराजकताको पनि अन्त्य गर्ने बताउनुभयो । प्रेस चौतारीलाई सक्षम पत्रकारहरूको संगठन गर्ने बताउनुभयो ।

बैठकलाई नेकपा एमालेका गण्डकी प्रदेश उपसचिव रश्मी आचार्य, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, कोषाध्यक्ष इन्द्र आचार्य, पार्टीका तर्फबाट प्रेस चौतारीका ईञ्चार्ज रामकृष्ण ज्ञवाली, सचिव शुष्मा पौडेल र इन्द्र पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

पर्सा

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत पर्साको वीरगञ्जमा अखिल नेपाल पीछडावर्ग (ओबीसी) महासंघको मधेस प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सचिव एवम् मधेस प्रदेश इञ्चार्ज रघुवीर महासेठको प्रमुख आतिथ्यता र महासंघका प्रदेश संयोजक गजेन्द्र प्रसाद पटेलको अध्यक्षता अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा पार्टी पोलिटब्युरो सदस्य एवम् मधेस प्रदेशका सह–ईञ्चार्ज सुमन प्याकुरेल पनि सहभागी हुनुहन्थ्यो ।

अधिवेशनबाट गजेन्द्र प्रसाद पटेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा ननीपत सहनी र चितरञ्जन यादव, सचिवमा भगवान लाल पटेल तथा कोषाध्यक्षमा किरण ठाकुर चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा सुढु चौरसिया, मुक्ति चौहान, राजेन्द्र साह, सरोज जयसवाल, मलिया देवी, जमुना साहलगायत रहनुभएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै सचिव महासेठले देश विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ । वर्तमान सरकार आफ्नो स्वार्थ पूर्तिका लागि विदेशीको इसारामा चलिरहेको धारणा व्यक्त गर्दै उहाँले वर्तमान दश दलीय गठबन्धन विदेशीको इसारामा बनेको र यसले विदेशीकै हितमा काम गर्ने प्रष्ट पार्नुभयो ।

बागलुङ

‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत बागलुङको ढोरपाटन उपत्यकामा नेकपा एमालेले विशेष कार्यक्रम आयोजना गरेको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले ढोरपाटन क्षेत्र, बागलुङ जिल्ला र गण्डकी प्रदेशको दीगो विकासका लागि उत्तरगङ्गा जलाशययुक्त आयोजना कोसेढुङ्गा सावित हुने भन्दै तत्काल काम थाल्नुपर्ने बताउनुभएको छ । उहाँले जलाशययुक्त आयोजना निर्माणपछि ढोरपाटन क्षेत्रका सर्वसाधारणको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशकै गौरवको आयोजना भएर पनि उत्तरगङ्गा कम चर्चामा रहने गरेको भन्दै उहाँले सबै पक्ष र क्षेत्रबाट यो आयोजना सञ्चालनका लागि सहयोग आवश्यक रहेको बताउनुभएको छ । उहाँले ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि प्रदेश सरकार तयार रहेको जानकारी दिनुभयो ।

मोरङ

मिसन ग्रासरूट अभियानअन्तर्गत नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीले पाँच हजार पार्टी सदस्यहरूको सदस्यता नवीकरण गर्ने अभियान सुरू गरेको छ । पार्टीले महानगरका १९ वटा वडा कमिटी र १७४ वटा टोल कमिटीको भेला गरिरहेको छ ।

पार्टी पोलिट्ब्यूरो सदस्य विशाल भट्टराईको नेतृत्वमा महानगरभित्र नेकपा एमालेका पाँच हजार संगठित सदस्य रहेकामा उनीहरूको अवस्था बुझ्ने र सदस्यता नवीकरण गर्दै मिसन ग्रासरुटलाई अघि बढाउने काम भइरहेको महानगर कमिटीका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । यस्तै, विराटनगर–११ स्थित बुद्धबिहार टोल संगठनको आयोजनामा वृक्षरोपणको काम गरिएको छ भने चैत १० गतेभित्र टोलका सबै अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

सप्तरी

मिसन ग्रासरूट अभियानअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही टोल कमिटीको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका सह–ईञ्चार्ज सञ्जिव झाको प्रमुख आतिथ्यता र वडा अध्यक्ष अशोक साहको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको हो ।

बैठकमा एमाले सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरी, राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष चितरञ्जन यादव, राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डल सहभागी हुनुहुन्थ्यो ।

यसैबीच, केन्द्रीय सदस्य झाकै प्रमुख आतिथ्यतामा राजगढ गाउँपालिकाकै वडा नम्बर–६ स्थित मुसरनिया टोलमा, शम्भुनाथ नगरपालिकाको वडा नम्बर–६ मा पनि कार्यक्रम सम्पन्न भएको छ ।

बाँके

मिशन ग्रासरुटअन्तर्गत बाँकेको कोहलपुर नगरपालिकामा नेकपा एमाले नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यता र नेकपा एमाले कोहलपुर नगरकमिटीका अध्यक्ष नमप्रसाद शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा अभियानको रिपोर्टिङ गर्नुका साथै विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरिएको छ । प्रमुख अतिथि ज्ञवाली, किस्मत कक्षपतिलगायत नेताहरूले प्रशिक्षणमुलक सम्बोधन गर्नुभएको थियो । बैठकले स्ववियू निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ ।

दोलखा

नेकपा एमालेको संगठन सुदृढीकरण एवम् विस्तार अभियान मिसन ग्रासरूट अभियानले दोलखामा पनि तीव्रता पाएको छ । यसै क्रममा जिल्लाको उत्तरी क्षेत्रको बिगु र कालिञ्चोक गाउँपालिकाको थामी बस्तीहरूमा प्रशिक्षण तथा वडा कमिटीका बैठकहरू सम्पन्न भएका छन् ।

पार्टी केन्द्रीय सदस्य गोविन्द प्रसाद दुलालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा दुलालले थामीहरूको प्रमुख रोजगारीको रूपमा रहेको ढुंगाखानीलाई पुन: सञ्चालन गर्न स्थानीय सरकारले गौरीशंकर संरक्षण क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । उहाँले थामी भाषाको संरक्षणका लागि शब्दकोश प्रकाशन गर्न स्थानीय सरकार र राष्ट्रिय भाषा आयोगको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

नेता दुलालले ग्रासरुट अभियानले पार्टी संगठनलाई अगाडि बढाउन वैचारिक रूपमा बलियो र भावनात्मक रूपमा एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बाँके

यसैबीच, बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पनि नेकपा एमाले नगर कमिटीको आयोजनामा मिसन ग्रासरुट अभियानअन्तर्गत सबै वडाका वडा कमिटी अध्यक्ष, संयोजक, सहसंयोजक र पदाधिकारीसहितको विस्तारित समीक्षा वैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला अध्यक्ष किस्मत कक्षपति, प्रदेश कमिटी सदस्यहरूको उपस्थिति थियो ।

तेह्रथुम

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरुटअन्तर्गतका कार्यक्रमहरूमा तेह्रथुमका ज्येष्ठ नागरिकहरूले सक्रिय सहभागीता देखाउनुभएको छ । पूर्वी पहाडी जिल्लाहरूमा पछिल्ला वर्षहरूमा युवाहरू विदेश जाने र स्थानीयहरू बसाइ सर्ने क्रम बढ्दो छ । यसको चापमा परेको तेह्रथुमका गाउँमा रहनुभएका ज्येष्ठ नागरिकहरू नै पार्टीका बैठक र छलफलमा सहभागी हुने गर्नुभएको छ ।

यसैबीच जिल्लाको छथर गाउँपालिका–३ पञ्चकन्यामा एमाले नेता लक्ष्मण तिवारीको नेतृत्वमा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । एमालेले अहिले के गरिरहेको छ र अब के गर्छ भन्ने विषयमा ज्येष्ठ नागरिकहरूले चासो व्यक्त गर्नुभएको थियो ।

ओखलढुंगा

मिसन ग्रासरुट अभियानअन्तर्गत ओखलढुंगाको सिद्धीचरण नगरपालिका–९ मा अभिमुखीकरण तथा योजना निर्माण कार्यक्रम भएको छ । कार्यक्रममा मिसन ग्रासरुटलाई प्रभावकारी ढंगले अगाडि बढाउनेबारेमा छलफल भएको एमाले प्रदेश कार्यालयका नेता नरेन्द्र बरालले जानकारी दिनुभयो ।

दार्चुला

मिसनग्रासरुट अभियानअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ को छोला र देथला टोलमा नेकपा एमालेका नेता कार्यकर्तासँग छलफल गरिएको छ । ग्रासरूट अभियानलाई सफल बनाउन स्थानीय नेता कार्यकर्तासँग छलफल गरिएको हो ।

बैतडी

नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर २ को गोल्याडी टोलका नेकपा एमालेमा आबद्ध र शुभचिन्तकहरूसँग सोमबार छलफल गरिएको छ । छलफलबाट एमालेले सञ्चालन गरिरहेको केन्द्रीय अभियान सफल पार्न विभिन्न कार्यक्रमहरू निर्धारण गरिएका छन् ।