३० आश्विन २०८३, शुक्रबार

संविधानले सुरक्षाको बृहत् पक्षलाई आत्मसात् गरेको छ : प्रधानसेनापति शर्मा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । प्रधानसेनापति प्रभुराम शर्माले शीतयुद्धपश्चातको परिवर्तित विश्व व्यवस्था तथा तीव्र गतिमा बढिरहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाको क्षेत्रलाई व्यापक बनाउँदै लगेको र यसले बहुपक्षीय मानव केन्द्रित सुरक्षा अवधारणालाई समेट्ने बताएका छन् ।

आज रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित सि.सं. ८ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको थालनी गर्दै उनले दीगो आर्थिक समुन्नतिका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको र यस्तो वातावरणको सुनिश्चितता राज्यशक्तिका सम्पूर्ण संयन्त्रहरुको सहकार्यबाट मात्र सम्भव हुने बताएका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापतिले गैरपरम्परागत सुरक्षा चुनौतीहरु बढ्ने क्रममा त्यस्ता चुनौतीहरु सामना गर्ने उपयुक्त विकल्पहरुको खोजी हुनु स्वाभाविक भए पनि राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषत: जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको धारणा व्यक्त गरे ।

प्रधान सेनापतिले विविध चुनौतीहरुले नेपालको राष्ट्रिय सुरक्षामा पार्ने सम्भावित प्रभावको अनुमान गर्दै त्यसलाई सामना गर्न नेपालको संविधानले नै सुरक्षाको बृहत पक्षको महत्वलाई आत्मसात गरेको कुरा उल्लेख गर्दै नेपालको राष्ट्रिय सुरक्षा नीतिले हाम्रो राष्ट्रिय हितहरुको अभिवृद्धि एवम् राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेढुंगाको कार्य गरेको उनले बताए ।