
काठमाडौं, २९ फागुन । विभिन्न माग राख्दै आन्दोलनरत उद्योगी व्यवसायीहरुले आज राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका छन् ।
बैंकको ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै आन्दोलन गरिरहेका व्यवसायीहरुले सोमबार काठमाडौंको बालुवाटार क्षेत्रमा राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुको ‘उच्च सेवा शुल्क बन्द गर’, ‘प्रिमियम दर वृद्धि नियन्त्रण गर’, ‘बैकिङ आतंक बन्द गर’लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए । काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले प्रिमियम दर वृद्धि गरेर व्यवसायीहरुलाई समस्यामा पार्ने काम भएकाले विरोध गर्नुपरेको बताए । उनले आर्थिक नीतिलाई सही अवस्थामा ल्याउन राष्ट्र बैंकले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।
व्यवसायीहरुले ब्याजदरलाई एकल अङ्कमा झार्नुपर्नेलगायत आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालू पुँजी निर्देशिका खारेज गरि व्यावहारिक निर्देशिका बनाइनुपर्नेलगायत माग राख्दै आन्दोलन गरिरहेका छन् ।















प्रतिक्रिया