
काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अगामी पाँच महिनापछि सरकार परिवर्तन हुनसक्ने सङ्केत गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक कार्यक्रममा थापाले जनताको धैर्यताका आधारमा सरकार परिवर्तन हुने बताउँदै उनले वर्तमान सरकारको कार्यशैली र कार्यप्रगति हेर्न पाँच महिनाको समय रहेको बताएका हुन् ।
उक्त अवधिभित्र सरकारले केही गरेको र गर्ने सङ्केत नदिए पाँच महिनापछि सरकार पुन: अंकगणितको खेल हुनसक्ने उनको भनाइ छ । त्यसकारण वर्तमान सरकारले जनताले अपेक्षा गरेअनुसार पाँच महिनामा नै सुधारका सङ्केत देखाउनुपर्नेमा उनको जोड छ ।
राजनीतिक अलमलमा समय खेर फाल्ने समय वर्तमान सरकारलाई नरहेको भन्दै थापाले छिटो भन्दा छिटो मन्त्रीपरिषद् विस्तार गरेर सरकार आफ्नो गन्तव्यतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले कामको अनुभुति जनतालाई गराउन नसके गठबन्धनको कुनै अर्थ नरहने उनले बताएका छन् ।
उनले आफू प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा उठेको र पराजित भइसकेको अवस्थामा मन्त्री बन्ने चाहना नभएको बरु सांसदको रुपमा जनताको सेवा गर्ने जिकिर गरे ।
महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।















प्रतिक्रिया