
काठमाडौं, २७ फागुन । उदयपुरमा आगलागीमा परेर दिदी भाइको मृत्यु भएको छ ।
रौतामाई गाउँपालिका–८ मा रामबहादुर बुर्जाको घरमा आगलागी हुँदा जलेर उनकी ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजनको मृत्यु भएको हो ।
विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट १० लाख भन्दा बढिको क्षति भएको छ ।
यसैबीच, सप्तरीमा आगलागी हुँदा १६ घर जलेर नष्ट भएका छन् । जिल्लाको तिरुहुत गाउँपालिका–५ मा भएको भीषण आगलागीबाट १६ घर जलेर नष्ट भएका हुन् । आगलागीका कारण ६ घरपरिवार विस्थापित भएका छन् ।
प्रहरीका अनुसार आगलागीमा सत्यनारायण ठाकुरको ४ वटा, रामकिसुन मरैताको ४ वटा, हरिनारायण ठाकुरको ३ वटा, देवनारायण ठाकुरको २ वटा, उपेन्द्र ठाकुरको २ वटा, गोसाई अरगरियाको एउटा गरी १६ घर जलेर नष्ट भएका हुन् ।
राजविराज, हनुमाननगर, कञ्चनपुर र शम्भुनाथ नगरपालिकाबाट आएको ४ वटा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीमा मानवीय क्षति नभए पनि नगद, गरगहना, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ ।
आगलागीमा ५० लाख भन्दा बढीको धन सम्पत्ति जलेर नष्ट भएको हुन सक्ने स्थानीय प्रहरीको अनुमान छ ।















प्रतिक्रिया