३० आश्विन २०८३, शुक्रबार

होलीमा पनि रोकिएन एमालेको मिसन ग्रासरुट अभियान, धनुषादेखि धादिङसम्म के–के भयो ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । पार्टी सुदृढीकरण र विस्तारका लागि नेकपा एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान होली पर्वमा पनि रोकिएन ।

पार्टीलाई बलियो बनाउँदै आगामी निर्वाचनबाट बहुमत ल्याउने उद्देश्यसहित सञ्चालन गरिएको अभियान देशैभर सञ्चालन भइरहेको छ । आज होली पर्व भए पनि त्यसको परवाह नगरी धनुषादेखि धादिङसम्म विभिन्न गतिविधि भएका छन् ।

धनुषा

नेकपा एमालेको संगठन सुदृढीकरण तथा विस्तार अभियान ग्रासरुट अभियानले मधेश प्रदेशमा तीव्रता पाएको छ ।

मिसन ग्रासरुट अन्तर्गत मधेश प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रमहरू भइरहेका छन् । मिसन ग्रासरुट अभियान अन्तर्गत धनुषाको क्षिरेश्वर नाथ नगरपालिकामा भएको कार्यक्रमलाई नेकपा एमालेका सचिव रघुवीर महासेठले सम्बोधन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले छेपारोजस्तो रंग फेर्ने पार्टी एमाले नभएको बताउनुभयो । नेकपा एमाले मधेशी जनताको मनमा बसेको भन्दै उहाँले मिसन ग्रासरुट अभियानले मधेशमा एमालेलाई थप बलियो बनाउने बताउनुभयो ।

अर्घाखाँची

मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीको भुमिकास्थान र मालारानी गाउँपालिकामा वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

भुमिकास्थान नगरपालिकाका वडा नं १ र २ को ढाकाबाङबाट अभिमुखीकरण कार्यक्रम थालनी गरी मालारानी गाउँपालिकाका वडा नम्बर ७ बामरूक, वडा नम्बर ८ हंसपुर र वडा नं ९ गोखुंगामा सम्पन्न गरिएको छ ।

पार्टी स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यता, पोलिटव्युरो सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज सूर्य थापा र जिल्ला पार्टी सचिव टोजबहादुर रायमाझीको आतिथ्यतामा भएका कार्यक्रमहरूमा पार्टी संगठनलाई चुस्तदुरूस्त बनाउन विभिन्न योजनाहरू तर्जुमा गरिएको छ ।

जुम्ला

पार्टी सुदृढीकरण एवम् विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत आज जुम्लामा बनभोज कार्यक्रम आयोजना गरिएको छ । होली पर्वको अवसर पारेर खलंगाभन्दा माथि चेर्याको चौरमा कार्यक्रम आयोजना गरिएको हो ।

पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालको उपस्थितिमा आयोजित वनभोज कार्यक्रममा शुभकामना आदान–प्रदान, अनौपचारिक कुराकानी, देउडा खेल र छलफल गरिएको थियो ।

यसपटकको होली जुम्लाका अगुवा नेता र कार्यकर्ताहरूसँग बनभोज आयोजना गरेर रमाइलो तरिकाले मनाइएको केन्द्रीय सदस्य रिजालले जानकारी दिनुभयो । आज आयोजित कार्यक्रम मिसन ग्रासरुट अभियानअन्तर्गतकै भएको उहाँको भनाइ छ । कार्यक्रममा मुख्यत: चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकका अगुवा कार्यकर्ताको सहभागिता थियो ।

लमजुङ

लमजुङको दूधपोखरी गाउँपालिकामा पनि नेकपा एमालेको मिसन ग्रासरूट अभियान सुरू भएको छ ।

अभियानको सुरुवात गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य एवं दूधपोखरी गाउँपालिकाकी केन्द्रीय प्रतिनिधि सम्झना देवकोटाले अभियानलाई तल्लो तहसम्म पुर्‍याउनुपर्ने बताउनुभयो । नेकपा एमाले ‘मिसन ग्रासरुट’ अभियानसहित संगठन सुदृढीकरण अभियानमा जुटेको उहाँले बताउनुभयो । अभियान अन्तर्गत केन्द्र, प्रदेश, पालिका, वडा र टोलसम्मको संगठनलाई जीवन्त र क्रियाशील बनाउने लक्ष्य राख्नुपर्ने उहाँको भनाइ छ ।

पालिकास्तरीय बैठक बसेर २ महिनाभित्र गरिने कार्यक्रमको योजना तयार गरिने र त्यसपछि नेता कार्यकर्ता सक्रिय रहने उहाँले बताउनुभयो । दूधपोखरी गाउँपालिकामा ग्रासरुट अभियानलाई प्रभावकारी बनाउनका लागि पालिका भित्रका सबै वडाहरूसम्म अभियान संचालन गर्ने निर्णय गरिएको छ ।

बैठकलाई नेकपा (एमाले) लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य सिंहबहादुर थापा, लक्ष्मी अधिकारी, रामहरी दवाडीे, जिल्ला उपाध्यक्ष एवं प्रदेशसभा सदस्य यशोदा रिमाल, जिल्ला सचिवालय सदस्य शिवप्रसाद जोशी, रामचन्द्र दवाडी, पवित्रा थापा राना लगायतको नेताहरूले मार्गनिर्देश गर्नुभएको दुधपोखरी पालिका कमिटीका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

दोलखा

दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकामा पनि मिसन ग्रासरुट अभियान अन्तर्गत पालिका कमिटी बैठक सम्पन्न भएको छ ।

एमाले केन्द्रिय कमिटी सदस्य गोविन्दप्रसाद दुलाल, प्रदेश कमिटी सदस्य भरत केसी, प्रदेश कमिटी सदस्य डबल पाण्डे, जिल्ला कमिटी सदस्य एवं पालिका कमिटीका इञ्चार्ज तथा सह इन्चार्जहरू, जिल्ला कमिटीका सदस्यहरू, पालिका कमिटीका अध्यक्ष लगायत पदाधिकारीहरू, पालिकाका जनप्रतिनिधिहरू, जनवर्गीय संगठनका अध्यक्षहरू, वडा कमिटीको अध्यक्ष लगायत प्रतिनिधिहरूको भव्य उपस्थितिमा गाउँपालिका कमिटीको बैठक सम्पन्न भएको हो ।

बैठकले वडा स्तरमा गरिने कार्यक्रम लगायत पालिकास्तरको प्रशिक्षण कार्यक्रम र काठमाडौँ कालिन्चोक सम्पर्क कमिटीको कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत गाउँपालिकाको भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले एमालेविरुद्ध हाल भइरहेको दक्षिणपन्थी घेराबन्दी र प्रहारलाई तोडेर पार्टी अगाडि बढ्न सक्षम रहेको बताउनुभयो । भेलामा प्रदेश कमिटी सदस्य पुरुषोत्तम प्याकुरेल, हेम गंगा मोक्तान, गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामालगायतले पार्टीको ग्रासरुट अभियानका विविध आयामको चर्चा गर्नुभएको थियो । एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले मिसन ग्रासरूट अभियानको पूर्ण सफलताले पार्टीको आगामी भविष्य तय हुने बताउनुभयो ।

गाउँपालिका कमिटी अध्यक्ष प्रदीप भण्डारीको अध्यक्षतामा सम्पन्न भेलाले दुई महिना गाँउपालिकामा गरिने कार्यक्रमबारे विभिन्न सात वटा निर्णय गरेको छ । अभियानमा सदस्यता नवीकरण, वडा भेला, जनसंगठनको संयुक्त भेला, वैचारिक प्रशिक्षण, सेल्टरदाताको सम्मान गरिनेलगायत गतिविधि गरिने भएको छ ।

सिन्धुली

सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा स्ववियु निर्वाचनलाई सफल पार्नका लागि रणनीति तयार पारिएको छ ।
पार्टीका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यता तथा दुधौली नगर कमिटीका सचिव सुमन चौधरीको अध्यक्षतामा बसेको बैठकले स्ववियु निर्वाचनलाई मिसन ग्रासरुटको एउटा महत्वपूर्ण विषय बनाई सक्रिय भूमिका निर्वाह गर्ने गरी विभिन्न कार्यविभाजन समेत गरेको छ ।

काठमाडौं

यसैगरी, नेकपा एमालेका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष किशोरविक्रम मल्लले स्ववियु निर्वाचनमा जसरी पनि जित हासिल गर्न निर्देशन दिनुभएको छ ।

पार्टीका तर्फबाट कीर्तिपुर क्याम्पसमा खटिनुभएका मल्लले त्रिभुवन विश्व बिद्यालय केन्द्रीय क्याम्पसको पदाधिकारी र अखिलका पूर्ब नेताहरूको बैठकमा यस्तो निर्देशन दिनुभएको हो । बैठकले २०७९ फाल्गुन २३ गते अगुवा कार्यकर्ता भेला तथा प्राध्यापक, कर्मचारी र स्थानिय पार्टी कमिटीको संयुक्त बैठक सम्पन्न गर्ने, २४ गते महिला भेला गर्ने निर्णय गरेको हो ।

चितवन

नेकपा एमालेको संगठन सुदढीकरण तथा विस्तार अभियान मिसन ग्रासरुट चितवनको माडी नगरपालिकामा पनि सुरु भएको छ ।

प्रदेश कमिटी सदस्य राजाराम रेग्मीको प्रमुख आतिथ्यता र ८ नम्बर वडा कमिटीका अध्यक्ष तिलक गायकको अध्यक्षतामा सम्पन्न भेलाले स्ववियु निर्वाचन केन्द्रीय कार्ययोजना बनाउनुका साथै पार्टीको टोल कमिटी निर्माण, जनवर्गिय संगठन गठन तथा पुनर्गठन, सदस्यता नवीकरण तथा वडास्तरीय प्रशिक्षण कार्यक्रमको कार्ययोजना तय गरेको छ । बैठकमा जिल्ला कमिटी सदस्य कमल रामदाम, जितबहादुर शाही लगायतको सहभागिता थियो ।

बाँके

यसैगरी, नेपालगन्ज उपमहानगरपालिका वडा न १२ मा पनि मिसन ग्रासरुट अभियान सुरु भएको छ ।
वडा कमिटीका अध्यक्ष जनकराम भण्डारीको अध्यक्षता तथा बाँके जिल्लाका अध्यक्ष किष्मत कुमार कक्षपतिको प्रमुख आतिथ्यतामा सम्पन्न वडा कमिटीको बैठकले टोल कमिटी गठन तथा बिस्तार, संगठित सदस्य नवीकरण, घरदैलो कार्यक्रम लगायतका महत्वपूर्ण कार्ययोजना बनाएको छ । बैठकमा एमाले बाँकेका अध्यक्ष कक्षपति, नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्य लगायतले प्रशिक्षण दिनुभएको थियो ।

धादिङ

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ मा पनि मिसन ग्रासरुट अभियान सुरु भएको छ । बागमती प्रदेश कमिटी सदस्य देवप्रसाद त्रिपाठीको प्रमुख आतिथ्यता तथा एमाले धादिङका जिल्ला कमिटी सदस्यहरू यज्ञश्वर अर्याल, आर.बि.कार्की, हरि थापा, पालिका कमिटीका अध्यक्ष राजेश थापाको आतिथ्यतामा सम्पन्न भेलाले गंगाबहादुर कार्की ध्रुबको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरेको छ ।