३० आश्विन २०८३, शुक्रबार

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउँ भन्दा बाहाना बनाएर पन्छिने प्रचण्ड हुन् : केपी ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नमान्ने र विभिन्न बाहाना बनाएर पन्छिने व्यक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको बताएका छन् ।

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिन आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन प्रचण्डले नै नचाहेको बताएका हुन् ।

‘पहिलो पटक प्रधानमन्त्री हुँदा द्वन्द्वकालीन मुद्दा टुङ्ग्याउन आग्रह गर्दा प्रचण्डले मान्नुभएन । कहिले के भनेर कहिले के भनेर पन्छिनु भयो,’ अध्यक्ष ओलीले भने, ‘मैले प्रचण्ड र शेरबहादुरजीलाई पटकपटक भनेँ । द्वन्द्वका प्रमुख पक्ष र विपक्ष तपाईंहरू हो । यसको एउटा खाका बनाउँ । म दुवै हातका औंठा छाप गरिदिन्छु । तर, उहाँले वास्ता गर्नु भएन ।’

ओलीले बेपत्ता छानविन तथा सत्य निरुपणसम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेहरुले व्यवधान खडा गरेको जिकिर गरेका छन् । शान्ति प्रक्रियालाई अविलम्व टुङ्गाउनुपर्ने एमालेको धारणा रहेको भन्दै उनले यस विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।

प्रशिक्षण कार्यक्रममा ओलीले पुस १० गते भएको सहमति तोड्दै राष्ट्रिय छलफलको कुरा गरेर प्रचण्डले छलि कुरा गरेको आरोप लगाए । राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउनका लागि एमालेका राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति गर्न उनले आह्वान गरेका छन् ।

अहिले पाइला पाइलामा संविधान मिच्नेहरुले नै संविधानमाथि खतरा भयो भन्दै वक्तव्यवाजी गरिरहेको टिप्पणी गर्दै ओलीले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल सभामुख हुँदा सांसदको अधिकार खोसेको भन्दै ओलीले व्यक्तिगत रुपमा सम्मान गरे पनि सभामुखका रुपमा कामै नलाग्ने र राष्ट्रपतिका रुपमा सोच्नै नसकिने पात्र भएको तर्क गरे ।

ओलीले अहिले सरकारमा भएका दल र नेताहरु सत्तास्वार्थका लागि राष्ट्रिय हितबिपरीत काम गरिरहेको भन्दै यसलाई एमालेले रोक्ने बताए । नेकपा एमाले देश र जनताका साथै संविधानप्रति प्रतिवद्ध रहेकाले कुनै पनि भ्रममा नपर्न आफ्ना सांसदहरुलाई ओलीले आग्रह गरेका छन् ।