
जनकपुरधाम, २२ फागुन । मिथिला माध्यमिकी परिक्रमा यात्रा भारतको बिहारस्थित विशौलमा विश्राम गरी सोमबार विहान जनकपुरधाम आइपुगेको छ ।
मंगलबार जनकपुरधाममा अन्तर गृह परिक्रमा गरेपछि यात्रा पुरा हुनेछ ।
परिक्रमामा सहभागी यात्री प्रदेश सभानजिकको हनुमानगढी, तिरहुतिया गाछी, बाह्रबिघा र मठमन्दिरहरूमा बास बसेका छन् । गत ८ फागुनमा जनकपुरधामको हनुमानगढीमा भेला भएर परिक्रमा यात्रा सुरु गरिएको थियो ।

परिक्रमालाई स्वागत तथा व्यवस्थापन गर्न जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायत निकाय जुटेका छन् । हनुमानगढीबाट सुरु भइ परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेको हो ।

नेपाल र भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । यस यात्राका सहयात्रीले नेपालका एक सय दुई र भारतको २६ गरी एक सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ । एक सय २८ किलोमिटरमा १५ वटा विश्रामस्थल छन् ।
परिक्रमाको अन्तिम दिन जनकपुरधाममा लगभग ८ किमी परिक्रमा यात्रा गरिन्छ । त्यसपछि परिक्रमाका यात्रीहरू घर फर्किन्छन् र फर्केको भोलिपल्ट होली मनाउने गर्दछन् ।

















प्रतिक्रिया