३० आश्विन २०८३, शुक्रबार

मिसन ग्रासरूट अभियानअन्तर्गत शनिबार कहाँ–कहाँ के–के भयो ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । पार्टीलाई सुदृढ, विस्तारित र एकढिक्का बनाउँदै आगामी निर्वाचनमा बहुमत ल्याउने मुख्य उद्देश्यसहित एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ ।

अभियानअन्तर्गत आज पनि देशभर जिल्ला र पालिकास्तरका कार्यक्रमहरू भएका छन् । आज अर्घाखाँचीदेखि सिन्धुलीसम्म भएका विभिन्न कार्यक्रमहरूका विवरण यसप्रकार छन्–

अर्घाखाँची

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरू जनतासम्म पुर्‍याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

पत्रकार सम्मलेनमा एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाललगायत नेताहरूको सहभागिता थियो ।

बाँके

मिसन ग्रासरुट अभियानको दौरान राष्ट्रिय युवा संघ नेपाल बाँकेले आफ्नो नवौँ जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टी पोलिटव्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता र संघका अध्यक्ष ज्ञानेन्द्र ओलीको अध्यक्षतामा अधिवेशनको उद्घाटनसत्र सम्पन्न गरिएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, नेकपा एमाले केन्द्रीय सदस्य एवम् बाँके इञ्चार्ज सांसद सूर्य ढकाल, युवा संघ लुम्बिनी प्रदेश संयोजक खेमराज शर्मालगायतले मिसन ग्रासरुट अभियानकेन्द्रित मन्तव्य व्यक्त गर्नुभएको थियो । नवौँ अधिवेशनले सर्वसम्म्त नेतृत्व चयनका लागि पहल गरिरहेको जानकारी दिइएको छ ।

कपिलवस्तु

पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत शनिबार कपिलवस्तुको यशोधरा गाउँपालिकामा पालिकास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद मेनका पोखरेलको प्रमुख आतिथ्यता र यशोधरा गाउँपालिका कमिटी अध्यक्ष हरम सरिफको अध्यक्षतामा भएको कार्यक्रममा यशोधराका एक सय जना भन्दा बढी अगुवा कार्यकर्ताहरू सहभागी हुनुभएको थियो ।

कार्यक्रममा विभिन्न नेताहरूले फरक–फरक विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य साजिदा सिद्धिकी, प्रदेश नेता भगवानदास चौधरी, जिल्ला अध्यक्ष डम्मर शर्मा तथा जिल्ला नेताहरू भेषराज पाण्डे र कैलाश अग्रहरीलगायतको सहभागिता थियो ।
जिल्लाको १० वटै पालिकामा अभियान तीव्र पारिएको जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनुभयो ।

जुम्ला

नेकपा एमालेले यही फागुन ५ गतेदेखि देशभर सुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ नेपाली भाषाको उद्गमस्थल सिञ्जा पनि पुगेको छ ।

सिञ्जा गाउँपालिका कमिटीले सिञ्जाको नराकोटमा गाउँपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यता र पालिका कमिटी अध्यक्ष युवराज बमको अध्यक्षतामा वृहत् अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमले सबै वडाका लागि संगठन सुदृढीकरण तथा विस्तार अभियानको कार्ययोजना बनाएको छ ।

यसैबीच जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. १ तलीचौरमा पनि मिसन ग्रासरुट अभियानअन्तर्गत वडास्तीय भेला र प्रशिक्षण सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष रामबहादुर सार्कीको अध्यक्षतामा आयोजित भेलाले सदस्यता नवीकरण र नयॉ सदस्यता वितरण अभियान सञ्चालन गर्न पॉच वटा टोली निर्माण गरेको छ । भेलामा प्रदेश सचिवालय सदस्य गोर्ख पछाई, जुम्ला जिल्ला अध्यक्ष शान्तिलाल महत र चन्दननाथ नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकायाले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सिन्धुपाल्चोक

नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका कमिटीले खाडीचौरमा विस्तारित भेला आयोजना गरेको छ ।

पालिका कमिटी अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको विस्तारित भेलाले अभियान सफल पार्न पालिकाभित्र गरिने विभिन्न कार्यक्रमहरू बनाएर पारित गरेको छ ।

केन्द्रीय सदस्यद्वय सरेश नेपाल र निर्मल भट्टराईको उपस्थितिमा भएको भेलामा प्रदेश कमिटीका उपाध्यक्ष रामहरि सुवेदी, जिल्ला अध्यक्ष कमल नेपाल, प्रदेश कमिटी सदस्य होमनारायण श्रेष्ठ, भरत पराजुली, हरिबल्लव नेपाल, कार्केल लामा, कमला कायस्थलगायतको सहभागिता थियो ।

उहाँहरूले पार्टीले सञ्चालन गरेको अभियानबारे चर्चा गर्नुभएको थियो । पार्टीमा देखा पर्ने अराजकता र अनुशासनहीनतालाई ग्रासरुट अभियानले अन्त्य गर्ने विश्वास उहाँहरूले व्यक्त गर्नुभएको छ ।

तेह्रथुम

एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित वडा नम्बर १ र १० मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सांसद किशोर चन्द्र दुलाल तथा कमला दर्नाललाई सम्मान गरिएको छ ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य यज्ञराज सुनुवारसहित नेताहरू सञ्जय तुम्वाहाम्फे, होम खापुङ, तीर्थ अधिकारीलगायतले प्रशिक्षणमुलक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता घनेन्द्र सुबेदीले गर्नुभएको थियो ।

बाँके

बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा मिसन ग्रासरूट अभियानअन्तर्गतका कार्यक्रमहरूलाई तीव्र बनाइएको छ । पार्टी केन्द्रले लिएको लक्ष्य केन्द्रित हुँदै पालिकाहरूमा अभियान सञ्चालन गरिएको एमाले केन्द्रीय कमिटी सदस्य कोमल ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा पालिका कमिटी र मातहत रहेका वडा कमिटीका बैठकहरू सम्पन्न गरिएका छन् । बैठकहरूबाट अभियानको समग्र योजना तर्जुमा गरी पारित गरिएको छ । यस्तै कतिपय वडा कमिटीहरूलाई पुनर्गठन समेत गरिएको उहाँले जानकारी दिनुभएको छ ।

अब टोल कमिटी, जनसंगठन र सम्वद्ध अरु काममा आफूहरूको ध्यान केन्द्रित गर्ने बताउँदै ओलीले सञ्चालित अभियानले तय गरेका सम्पूर्ण उद्देश्य र लक्ष्य भेदन गर्नेगरी अगाडि बढिरहेको जानकारी गराउनुभएको छ ।

कास्की

मिसन ग्रासरुट अभियानअन्तर्गत कास्कीको रूपा गाउँपालिका वडा नम्बर ३ पोल्याङमा वडास्तरीय भेला आयोजना गरिएको छ । पार्टी केन्द्रीय सदस्य भगवती न्यौपानेको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष दीपेन्द्र गौतको अध्यक्षतामा सम्पन्न भएको भेलामा अग्रज व्यक्तित्व प्रेमजंङ्ग शाही र जुक्तबहादुर माललाई सम्मान गरिनाका साथै नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नुभएका राजेन्द्र कुमाल र भीमबहादुर कुमाललाई पार्टीमा स्वागत गरिएको छ ।

प्युठान

नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत प्युठानको मान्डवी गाउँपालिका कमिटीको विशेष बैठक र पालिकास्तरीय प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य एवम केन्द्रीय प्रतिनिधि घनश्याम पाण्डे, प्रदेश तथा जिल्ला कमिटीबाट खटिनुभएका प्रतिनिधिहरू सहभागी बैठक, भेला तथा प्रशिक्षण कार्यक्रमबाट पार्टीको केन्द्रीय अभियानलाई सार्थक र सफल बनाउन विभिन्न कार्ययोजनाहरू निर्माण गरिएका छन् ।

मकवानपुर

पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं. ११ को वडा कमिटी बैठक सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई आगामी निर्वाचनबाट पहिलो र बलियो शक्तिका रूपमा स्थापित गर्न पार्टी संगठनलाई बलियो बनाउँदै वडाको टोल–टोलमा गएर जनता र कार्यकर्ताको बीचमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

बैठकले जनसंगठनको वडा कमिटी, पार्टी टोल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणका लागि फागुन महिनासम्म सम्पन्न हुनेगरी अभियान टोली बनाई सञ्चालन गर्ने निर्णय गरेको वडा कमिटीका उपसचिव प्रभाकर पुडासैनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा प्रदेश कमिटी सदस्यहरू गोपाल श्रेष्ठ, सम्राट तुम्बाहाम्फे, जिल्ला कमिटी सचिव नवीन सिग्देललगायत विभिन्न संगठनहरूमा प्रतिनिधित्व गर्नुहुने नेताहरूको सहभागिता थियो ।

म्याग्दी

मिसन ग्रासरुट अभियान अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकामा पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा र जिल्ला अध्यक्ष देबेन्द्र केसीको उपस्थितिमा पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममार्फत मिसन ग्रासरुट अभियानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नेगरी कार्ययोजना निर्माण गर्नाका साथै पार्टीको तल्लो तह र जनतासँगको भेटघाटमा प्रवाह गरिने विषयवस्तुबारे छलफल गरिएको छ ।

सिन्धुली

मिसन ग्रासरुट अभियानअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका तथा तीनपाटन र फिक्कल गाँउपालिकामा पहिलो चरणको कार्यक्रमहरू सम्पन्न गरिएका छन् । पहिलो चरणमा जिल्ला र पालिका केन्द्रीत अभिमुखीकरण, रिपोर्टिङ, कार्ययोजना निर्माण, जिम्मेवारी बाँडफाँड, पत्रकार भेटघाटमार्फत अभियानको प्रचारात्मक क्रियाकलापहरू सञ्चालन गरिएको जिल्ला कमिटी सिन्धुलीले जानकारी दिएको छ ।

यी पालिकाहरू अब दोस्रो चरणको कार्यक्रमको तयारीमा जुटेका छन् । दुधौलीमा प्रदेश कमिटीका खड्गबहादुर खत्री र घनश्याम राउत, तीन पाटनमा शान्तिमान कार्की र रामप्रसाद गौतम तथा फिक्कलमा प्रदेश कमिटी सदस्य बिनोद खड्काले सहजीकरण गरिरहनुभएको छ । होली पर्व सकिनेवित्तिकै दोस्रो चरणको कार्यक्रम सुरूवात गरिने भएको छ ।

हुम्ला

नेकपा एमालेको संगठन सुदृढ़ीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत हुम्लाको चंखेली गाउँपालिकामा पालिकास्तरीय बैठक, प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बैठकले सबै वडाको कार्यक्रम तय गरी आज फागुन २० गतेदेखि सबै वडामा अभियान सञ्चालन गरेको छ ।