३० आश्विन २०८३, शुक्रबार

दलित र विपन्नको घरमा विद्युत् निःशुल्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdi

तुलसीपुर (दाङ), ६ जेठ । विद्युत् प्राधिकरण तुलसीपुरले यस आर्थिक वर्षमा दलित तथा विपन्न वर्गका लागि निःशुल्क विद्युत् जडान गर्ने भएको छ ।

त्यसका लागि रु सात लाख बजेट समेत आएको विद्युत् कार्यालय तुलसीपुरले जनाएको छ । विपन्न तथा दलितका लागि विद्युत् जडान गर्ने कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा उनीहरुलाई निःशुल्क मिटर, तार, विद्युत् बक्स दिइने सो कार्यालयले जनाएको छ ।

त्यसका लागि उनीहरुले जिल्ला विकास र जिल्ला प्रशासनबाट सिफारिस लिनुपर्ने छ । ‘दलित र विपन्नका लागि यो कार्यक्रम आएको हो, जिल्ला विकास समिति र जिल्ला प्रशासनको सिफारिस अनुसार विद्युत् जडान हुनेछ’ – कार्यालयका प्रमुख टङ्क गिरिले बताउनुभयो ।

यस वर्ष कम्तीमा एकसय त्यस्ता वर्गका घरमा विद्युत् जडान गरिने बताइएको छ । गतवर्ष पनि कार्यालयले दाङमा सो कार्यक्रम लागू गरेको थियो । त्यसैगरी, पश्चिम दाङका विद्युत् नपुगेका ग्रामीण वस्तीमा पनि विद्युत् विस्तार हुने भएको छ ।

विद्युत् नपुगेका तुलसीपुर नगरपालिकाका विभिन्न स्थानमा यस आर्थिक वर्षमा विद्युत् विस्तार हुने विद्युत् प्राधिकरण तुलसीपुरले बताएको छ ।

विद्युुत् प्राधिकरणले विद्युत् प्राधिकरण तुलसीपुरमा बजेटको समेत व्यवस्था गरेको जनाएको छ । सोकालागि रु ५० लाख बजेट आएको विद्युत् प्राधिकरण तुलसीपुरका प्रमुख गिरीले जानकारी दिनुभयो ।

तुलसीपुर नगरपालिकाको तथ्याङक अनुसार नगरपालिका क्षेत्रभित्र ६ हजार ५९६ घरधुरीले विद्युत् उपयोग गर्ने गरेका छन् भने दुई हजार ५९१ घरपरिवारले मट्टितेल, ६४ घरपरिवारले गोबरग्यास र अन्य १३२ घरपरिवारले केही प्रयोग नगर्ने गरेको तथ्याङकमा उल्लेख छ ।

यो तथ्याङक तुलसीपुर नगरपालिकाले विसं २०७० मा तयार पारेको हो । हाल भने नगरपालिका थप विस्तार भएको छ । रासस