१ कार्तिक २०८३, शनिबार

एमालेको मिसन ग्रासरुट अभियान : बिहीबार कहाँ–कहाँ के–के भयो ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । नेकपा एमालेले पार्टीलाई सुदृढीकरण तथा विस्तार गर्ने उद्देश्यअनुरुप फागुन ५ गतेदेखि ‘मिसन ग्रासरुट’ अभियान देशका ७५३ वटै पालिकामा सञ्चालन गरिरहेको छ ।

अभियानमा पार्टीका केन्द्रीय पदाधिकारीदेखि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरूसहित ३०० जना नेताहरू केन्द्रीय प्रतिनिधिका रुपमा परिचालित भएको एमालेले जनाएको छ ।

अभियानअन्तर्गत सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण, स्थानीय तहका समस्याहरू पहिचान, स्थानीय तहमा रहेका आन्तरिक अन्तरविरोध समाधान तथा सहजीकरण र हल नभएका समस्यालाई सम्बन्धित कमिटीमा पठाउने काम भइरहेको बताइएको छ ।

स्याङ्जा

नेकपा एमालेले सञ्चालन गरिरहेको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरूट’अन्तर्गत स्याङ्जाकोे कालिगण्डकी गाउँपालिकामा पार्टी संगठनलाई आधारभूत तहसम्म लैजान विशेष अभियान सञ्चालन गरिएको छ ।

पार्टीकी केन्द्रीय सचिव पद्माकुमारी अर्यालको उपस्थितिमा उक्त अभियान सञ्चालन गरिएको हो । सचिव अर्यालले आम निर्वाचनको परिणामले स्थायित्वका लागि समाधान दिन नसकेको बताउँदै मुलुकको राजनीति अनिष्टतर्फ उन्मुख हुँदै गएको धारणा व्यक्त गर्नुभएको छ ।

माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी समस्याका कारण मुलुकको भविश्य अप्ठ्यारोमा पर्दै गएको र त्यसले मुलुकमा विद्रोह सृजना गरे सम्पूर्ण जिम्मेवारी प्रचण्डले लिनुर्ने सचिव अर्यालको भनाइ छ ।

प्युठान

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत प्युठानको प्युठान नगरकमिटीको बैठक सम्पन्न भएको छ । स्थायी कमिटी सदस्य तथा पार्टीको परराष्ट्र ममिला विभाग प्रमुख डा राजन भट्टराईको प्रमुख आतिथ्यता, पोलिट्ब्यूरो सदस्य तथा प्रतिनिधि सभा सांसद सूर्य थापाको विशेष आतिथ्यता र पालिका कमिटी अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज गिरधारीलाल न्यौपाने, केन्द्रीय सदस्य घनश्याम पाण्डे, जिल्ला अध्यक्ष विजयविराज विष्टलगायत नेताहरूको उपस्थिति रहेको थियो ।

गोरखा

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूटअन्तर्गत गोरखाको गुप्सीपाखा लाप्राकमा स्थानीय जनताका समस्याबारे छलफल भएको छ । पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङको विशेष उपस्थितिमा केन्द्रीय प्रतिनिधि तिलक महत, जिल्ला अध्यक्ष प्रेम गुरुङ, जिल्ला इन्चार्ज रामशरण बस्नेतलगायत स्थानीय जनप्रतिनिधि र जनताहरूसँग छलफल गरिएको हो ।

स्थायी कमिटी सदस्य गुरुङले लाप्राकका जनताको समस्या समाधान गर्न नेकपा ऐमाले प्रतिबद्ध रहेको बताउनुभयो । एमालेकै सरकारको नेतृत्वमा गोरखाको १२ किलो–बगर–बारपाक र बारपाक–लाप्राक–गुम्दी–माछिखोला–आरूघाट जोड्ने कच्ची सडक निर्माण भइसकेको र विभिन्न खण्डमा कालोपत्र र सडक विस्तारको कार्य अघि बढेको जानकारी उहाँले दिनुभएको छ ।

रूकुम पूर्व

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नेकपा एमाले पालिकास्तरीय भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत पोलिट्ब्यूरो सदस्य खेममान खडकाको आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा केन्द्रीय सदस्य नवीन रोकामगर, केन्द्रीय सल्लाहकार परिषद सदस्य नन्दलाल शर्मा, जिल्ला अध्यक्ष टोपबहादुर ओली, लुम्बिनी प्रदेश सदस्य निर्माण बुढा, आशा स्वर्णकार, कैलाश मल्ल, बागलाल बुढा, लिलामणि गौतम, बलबहादुर केसी र दलराज घर्तीलगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

जुम्ला

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अभियानअन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्राबाट सदस्यता नवीकरण तथा सदस्यता वितरण कार्य सुरु गरिएको छ । बिहीबार प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी सदस्यता वितरण गरी सदस्यता नवीकरण वितरण कार्यको थालनी गरिएको हो ।

सोही क्रममा दश जनाले सदस्यता नवीकरण र दश जनाले नयाँ सदस्यता लिनुभएको छ । कार्यक्रमको शुभारम्भ गर्दै रिजालले जनताको विश्वास र भरोसायोग्य पार्टी एमाले भएकाले चुनाव नपर्खी जनताको घरदैलोमा आएको बताउनुभयो । एमाले लगातार जनताकै बीचमा रहने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ ।

एमालेले बहुमत नल्याएसम्म मुलुकको विकास असम्भव रहेकाले अहिलेदेखि नै जनताको विश्वास जित्ने गरी काम गर्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभएको छ । कार्यक्रममा विष्णुमाया डॉगीको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघ वडा कमिटी गठन गरिएको छ ।

कास्की

मिसन ग्रासरुट अभियानअन्तर्गत पोखरा महानगरपालिमा नेकपा एमालेले बिहीबार प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

गण्डकी प्रदेश कमिटीका सह–इञ्चार्ज एवम् पोखरा महानगरका केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारीको प्रमुख आतिथ्यता र नगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा ३३ वटै वडा कमिटीका पदाधिकारी साथै महानगरभित्र विभिन्न पदमा रहेर पार्टीमा क्रियाशील रहनुभएका नेता कार्यकर्ताहरू सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा केन्द्रीय प्रतिनिधि अधिकारी, प्रदेश सचिवालय सदस्य पुण्यप्रसाद पौडेल र शिवप्रसाद पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

हुम्ला

मिसन ग्रासरूट अभियानअन्तर्गत हुम्लाको अदान गाउँपालिकामा पालिकास्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य निरज आचार्यको उपस्थितिमा भएको कार्यक्रमले बसै वडाहरूको रिर्पोटिङ र टोलको कार्ययोजना पारित गरेको छ ।

जनसंगठन गठन, पुनर्गठन गर्ने, टोल–टोलमा पुगेर सदस्यता वितरण तथा नवीकरण गर्ने कार्ययोजना एमाले हुम्लाले बनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य आचार्यले वामपन्थी अवसरवादको मतियार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांगठनिक अराजकतावादको मतियार एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भएको आरोप लगाउनुभएको छ ।

एमाले माक्र्सवाद र लेलिनवादको मार्गदर्शक सिद्धान्तका आधारमा अगाडि बढेको बताउँदै आचार्यले नेपाली भूगोलको मौलिक सिद्धान्तका रूपमा एमालेले जनताको बहुदलीय जनवादलाई अंगीकार गरेको उल्लेख गर्नुभयो ।

बाँके

मिसन ग्रासरूट अभियानअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ को गाउँपालिका कमिटी भेला, विस्तारित बैठक तथा अभिमुखीकरण कार्यक्रम बिहीबार कचनापुरमा सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य कोमल ओलीको प्रमुख आतिथ्यता र दीर्घबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक सय जना भन्दा बढी नेता कार्यकर्ताको उपस्थिति थियो ।

बैठकले टोल कमिटी विस्तार, जनवर्गीय संगठन गठन तथा पुनर्गठन गर्ने, विभिन्न पार्टी परित्याग गरी एमालेमा आएकालाई पार्टीमा स्वागत गर्ने, पार्टी सदस्यता नवीकरण गर्नेलगायत कार्ययोजना तय गरेको छ । बैठकले तुलसीराम भण्डारीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी पुनर्गठन गरेको छ ।

कञ्चनपुर

मिसन ग्रासरूट अभियानअन्तर्गन कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको वडा नम्बर ५ को वडा कमिटीको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि सहदेव बोगटीको प्रमुख आतिथ्यता र वडा कमिटीकी उपसचिव विन्दा रोकायाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । बैठकमा केन्द्रीय प्रतिनिधि बोगटीसहित नेताहरू रामबहादुर स्वर्णाकार, लालबहादुुर शाही, तुसार खड्का, लक्ष्मी भट्ट, विरू गिरीलगायतले अभियानबारेमा प्रशिक्षण दिनुभएको थियो ।

कपिलवस्तु

कपिलवस्तुको विजयनगर नगरपालिकामा नेकपा एमालेको मिसन ग्रासरूट अभियानअन्तर्गत वडा नम्बर २, ४, र ५ मा भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय सदस्य सीता सिग्देल न्यौपानेको आतिथ्यता र वडा नम्बर २ मा अध्यक्ष भुलन साहको अध्यक्षता, वडा नं. ४ मा टंकबहादुर सुनार र ५ मा उमानाथ भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, गाउँ कमिटी सदस्य, वडा कमिटी सदस्य र जनप्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रमले तीनै वडामा टोल कमिटी निर्माण गर्ने, वडामा जनवर्गीय संगठन निर्माण गर्ने साथै वडाहरूमा रहेका समस्याहरूको निक्र्यौल गरी समाधान गर्ने, सदस्यता नवीकरण तथा विस्तार गर्ने कार्ययोजना निर्माण गरेको छ ।

सिन्धुपाल्चोक

मिसन ग्रासरूट अभियानअन्तर्गत सिन्धुपाल्चोकको पाँच पोखरी गाउँपालिकामा नेकपा एमाले गाउँपालिकास्तरीय बैठकले विभिन्न कार्यक्रमहरू तय गरेको छ । बैठकले संगठन निर्माण तथा परिचालन, वडा कमिटीको बैठक, कमिटी गठन तथा पुनर्गठन, टोल कमिटीको बैठकका साथै एक घर एक सदस्य अभियान सञ्चालन गरी वडास्तरमा सदस्यता वितरण, नवीकरण, सदस्यता खारेज तथा नयाँ फर्म भराउने कार्य योजना तय गरेको छ ।

यस्तै, अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय युवा सङ्घ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासङ्घ, नेपाल उत्पीडित जातीय मुक्ति समाज गठन तथा सदस्यता वितरण, वडा दल तथा वडा सञ्चालन संयन्त्र गठन साथै वडा भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।

वर्गीय मुद्दा पहिचान र समाधान, सहभोजन, मितब्ययी सामाजिक संस्कार, विकास निर्माणका सवाल र प्राथमिकीकरण, ज्येष्ठ नागरिक, शेल्टरदाता, सहिद, घाइतेलगायतलाई सम्मान, आर्थिक तथा सामाजिक अभियान संचालन, एक कमिटी एक काम, तरकारी खेती, फलफूल खेती, प्राकृतिक खेती, स्वदेशी तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्ने लक्ष्य बैठकले लिएको छ ।