
हेटौंडा, १६ फागुन । बागमती प्रदेश सरकारले जंगली हात्तिको आक्रमणबाट मृत्यु भएकाको परिवारहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक/एक लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । पछिल्लो दुई सातामा बागमती प्रदेशमा जंगली हात्तिको कारण तीनजनाको मृत्यु भएको छ ।
एम गज नामक जंगली हात्ती आक्रमणको कारण ८ फागुनमा मकवानपुरको मनहरी-४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारी, १२ फागुनमा बकैया-५ पावसका ५० वर्षका सन्तलाल माझीको मृत्यु भएको थियो भने मकुन्ना नामक जंगली हात्तिको आक्रमणबाट कारण १३ फागुनमा सिन्धुलीको कमलामाई नगरपालिका-१३ का ४० वर्षीय दण्डपाणि पौडेलको मृत्यु भएको थियो ।
यसैगरी, आज नै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोख्रेलले दिएको राजीनामा पनि स्वीकृत गरेको प्रवक्ता मन्त्री थपलियाले जानकारी दिए ।















प्रतिक्रिया