१ कार्तिक २०८३, शनिबार

‘काले काले मिलेर खाउँ भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिए : केपी ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जोसँग पनि मिल्ने प्रवृत्ति देखाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् ।

आज काठमाडौंमा आयोजित शहिद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्मान कार्यक्रममा ओलीले पदका लागि जता जोसँग मिलेर भए पनि सत्तामा पुग्ने र आफ्नै स्वार्थ पूरा गर्ने कार्यहरु भइरहेको टिप्पणी गरेका हुन् ।

‘एउटा प्रवृत्ति छ नि बिरालो किन्नु पर्दैन दूध र भात कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ । कसले कचौरामा कति दूधभात दिन्छ त्यसअनुसार छिमेकीका घरतिर सर्ने त्यस प्रवृत्तिले सरकारमा हुनु र नेतृत्व गर्ने क्रम जारी छ,’ अध्यक्ष ओलीले भने । प्रचण्डले आफूलाई झुक्याउन खोजेको ओलीको आरोप छ ।

‘उहाँ (प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो । तर, फूल भनेर झुक्याउन खोज्नुभयो । मेरो आँखाले धोका खाएको थिएन । तपाइँले भनेपछि फूलै होला भनेर बसेँ,’ ओलीले भने, ‘काले काले मिलेर खाउँ भाले’ गर्न नपाएपछि प्रचण्ड आँत्तिएर हिँड्नुभयो ।’

प्रचण्ड जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै अध्यक्ष ओलीले भने ‘हरियो देख्नै नहुने । दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि । मसँग काम गर्दा काले–काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ । त्यतै जानुभयो ।’