२ कार्तिक २०८३, सोमबार

भक्तपुरमा बर्डफ्लु भेटियो, ११ हजारभन्दा धेरै कुखुरा र चल्ला नष्ट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । भक्तपुरका तीन वटा फार्मका कुखुरामा बर्डफ्लु भेटिएको छ। चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ।

बर्डफ्लु देखिएपछि बुधबार कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

पशु विभागका चिकित्सक डा. श्रीजा वाग्लेका अनुसार फार्ममा पालिएका कुखुरा धमाधम मर्न थालेपछि गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेटिएको हो।

पशु चिकित्सक वाग्ले, पशु सेवा विभागका प्राविधिक आत्माराम शर्मा, चाँगुनारायण–८ का वडाध्यक्ष जनक खत्री, चाँगुनारायण नगरपालिका पशुपन्छी सेवा विकास शाखाका कर्मचारी र प्रहरीको टोली खटिएर फार्मका कुखुरा नष्ट गरिएको छ।

तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० कुखुराका चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।