१ कार्तिक २०८३, शनिबार

पार्टीको दशौं महाधिवेशनद्वारा पारित दस्तावेज र निर्णयहरु तल्लो तहसम्म पुर्‍याउनुपर्छ : विश्वकर्मा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ९ फागुन । नेकपा एमालेका सचिव एवं लुम्बिनी प्रदेश कमिटी इन्चार्ज छविलाल विश्वकर्माले वडा र टोलसम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिएका छन् ।

नेकपा एमाले रुपन्देहीले मिसन ग्रासरुट अभियानको पहिलो कार्यक्रमअन्तर्गत आज कार्यकर्ताहरुका लागि आयोजित प्रशिक्षणात्मक अभिमुखीकरण कार्यक्रममा सचिव विश्वकर्माले पार्टीको दशौं महाधिवेशनले पारित गरेका दस्तावेज र निर्णयहरु तल्लो तहका कार्यकर्तामाझ पुर्‍याउनुपर्ने बताएका हुन् ।

संविधान सभाबाट बनेको संविधानले व्यवस्था गरेका उपलब्धिहरूको पक्षमा पार्टी प्रतिवद्ध रहेको भन्दै विश्वकर्माले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध उठाइएका आवाज र भ्रमको पछि नलाग्न निर्देशन दिए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले स्थानीय तहका जनप्रतिनिधिहरु र नेताहरुबीच समन्वयको अभाव र असमझदारी बढेकोले यसलाई तत्काल समाधान गर्नुपर्ने बताए ।

उनले पार्टी नेता कार्यकर्तालाई बैचारिक खुराकको कमी भएको, शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न नसकिएकाले यसतर्फ पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने पनि औंल्याए ।

कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहकार समितिका सदस्य गोपाल भट्टराई, पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसी, उपाध्यक्ष जगेश्वरदेवी चौधरी, सचिव यज्ञ गैरे,प्रचार विभाग प्रमुख हितराज पन्थी लगायतले ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पुराउने भएकाले सबैको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए ।

२ महिने अभियानमा पोलिटब्युरो र केन्द्रीय कमिटीका ७ जना नेता १६ वटा पालिकामा खटिने छन् ।

अभियान अन्तर्गतको मंगलबारको कार्यक्रममा जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनका जिल्ला अध्यक्षहरुलाई अभिमुखीकरण गरिएको थियो ।

ग्रासरुट अभियान अन्तर्गत अव सवै जिल्ला कमिटीका भेला, बैठक र प्रशिक्षण सञ्चालन हुनेछन् । सबै पालिकाहरुमा भेला, बैठक र प्रशिक्षण सञ्चालन गरिने एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।