
हेटौंडा, ८ फागुन । मकवानपुरको मनहरी गाउँपालिका-४ मा जंगली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएकी वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार बिहान घर नजिकै बसिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनलाई हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार लागि ल्याइएकोमा थप उपचारको लागि आजै दिउँसो चितवनको नयाँ मेडिकल कलेज रिफर गरिएको थियो ।
हात्तीको आक्रमणबाट मेरुदण्डसहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको अधिकारीको उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हात्ती आक्रमणकै कारण वृद्धा गम्भीर घाइते भएसँगै आक्रोसित बनेका स्थानीयहरुले गाउँपालिकामा रहेको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको चेकपोष्टमा तोडफोड गरेका थिए ।
निकुञ्जले हात्ती नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोसित बनेका स्थानीयले निकुञ्जको ना १ झ ९८८ नम्बरको जिप तोडफोड गरेका थिए । निकुञ्जसँगै जोडिएको मनहरीका स्थानीयहरुलाई जंगली हात्तीले दु:ख दिँदै आएको छ ।
केही दिन अघिदेखि मनहरी-४ र ५ का विभिन्न क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्तीले आतंक मच्चाइरहेको छ । हात्तीले गहुँ बाली, आलु काउली लगाएत तरकारी खेती समेत नष्ट गर्दै आइरहेको छ ।















प्रतिक्रिया