१ कार्तिक २०८३, शनिबार

राजनीतिक गतिविधिमा क्रियाशील हुने कर्मचारीमाथि कारबाही गर्ने चेतावनी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ८ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारीहरू काममा भन्दा बढी राजनीतिक गतिविधिमा क्रियाशील भएको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।

सुनसरीको तरहरामा जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरुसँगको छलफलका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् ।

‘राष्ट्रसेवक कर्मचारीहरु यदि कानुनभन्दा बाहिर गएर राजनीतिक रुपमा क्रियाशील हुनुभयो भने हामी कानुनी दायरामा ल्याएर कारबाही गर्छौ,’ मन्त्री मोदीले भने ।

अधिकृतस्तरको कर्मचारीसम्मलाई राजनीतिक गतिविधिमा संलग्न हुने कानुनी अधिकार भए पनि उपसचिवभन्दा माथि दर्जाका कर्मचारी समेत राजनीतिक गतिविधिमा देखिएको गुनासो आएको मन्त्री मोदीको भनाइ छ ।

मन्त्री मोदीले अधिकृतस्तरका कर्मचारीहरुले पनि पहिला जनताको सेवा र त्यसपछि मात्रै राजनीतिक गतिविधि रोज्न निर्देशन दिए ।

‘अधिकृत स्तरसम्म त ट्रेड युनियनमा आबद्ध हुन्छन्, उनीहरुको नेतागिरीलाई अस्वाभाविक मान्न सकिँदैन,’ मन्त्री मोदीले भने, ‘त्योभन्दा माथि उपसचिव दर्जाका कर्मचारी साथीहरुले दलगत स्वार्थ राखेर राजनीतिक रुपमा क्रियाशील हुनुभयो भने हामी कानुनी दायरामा ल्याएर कारबाही गर्छौ ।’

मन्त्री मोदीले सरकारको उद्देश्यअनुसार कार्यसम्पादनमा लाग्नु कर्मचारीहरुको मुल दायित्व भएकाले सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउन समेत निर्देशन दिएका छन् ।

कतिपय कर्मचारीहरुले राजनीतिक पूर्वाग्रह राखेर सेवा प्रवाहमा ढिलाई गरेको गुनासो सुनेको औल्याउँदै मन्त्री मोदीले भने, ‘राजनीतिक पूर्वाग्रह राखेर सेवा प्रवाहमा ढिलाई नगर्नका लागि म निर्देश गर्न चाहन्छु ।’

जनताको सेवाका लागि कर्मचारीहरुमाथि राज्यले लगानी गरेको बताउँदै मन्त्री मोदीले राज्यको लगानी सम्झेर सेवाग्राहीको समस्या दू्रत गतिमा समाधान गर्नेमा जोड दिन निर्देशन दिए ।