
काठमाडौं, ८ फागुन । महाशिवरात्रीको दिन १६ लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । गत बर्षको तुलनामा यो झण्डै दुई लाखले धेरै हो ।
पशुपति क्षेत्र विकास कोषकाअनुसार गत वर्षको शिवरात्रीमा १४ लाख दर्शनार्थीले मात्रै पशुपतिनाथ मन्दिरको दर्शन गर्न सकेका थिए । यो वर्ष दुई लाख बढेर दर्शनार्थीको संख्या १६ लाख पुगेको हो । मन्दिर परिसरसम्म आउने दर्शनार्थी जोड्दा यो संख्या ३० लाख पुग्ने विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।
‘यस बर्षको शिवरात्रीमा २० लाखले मन्दिरको प्रत्यक्ष दर्शन गर्ने अनुमान थियो । त्यति त पुगेन । तर, १५ देखि १६ लाख दर्शनार्थीले मन्दिरको प्रत्यक्ष दर्शन गरेका छन् । गत बर्ष १४ लाखले मात्रै दर्शन गरेका थिए । यस बर्ष सख्या बढेको छ । बाहिरीफेरो मेला भर्नेसहितलाई जोड्दा यो संख्या ३० लाख पुगेको छ,’ उनले भने ।
दर्शनार्थीबाट २० लाख भेटी संकलन भएको विकास कोषको दाबी छ । गणना गर्न बाँकी नै रहेको हुँदा भेटीको परिमाण थपघट हुनसक्ने कोषका कार्यकारी निर्देशक डा. खतिवडाले जानकारी दिए । विकास कोषकाअनुसार मेला भर्न भारतबाट सबैभन्दा धेरै दर्शनार्थी भएका थिए ।
भारतबाट मन्दिर दर्शनका लागि साधु मात्रै ५ हजारभन्दा धेरै आएको कोषको भनाई छ । मलेसिया, इण्डोनेसिया, म्यानमार, भुटान, श्रीलंकाबाटसमेत दर्शनार्थी पशुपतिनाथ मन्दिर आएको कोषले जानकारी दिएको छ ।
विकास कोषकाअनुसार ०४० तिर पशुपतिनाथ मन्दिर दर्शनका लागि मुस्किलले एक लाख दर्शनार्थी आउने गर्थे । त्यसअघिका बर्षहरुमा ५० देखि ६० हजार मात्रै दर्शनार्थी आउने गरेको कोषको तथ्यांक छ ।















प्रतिक्रिया