१ कार्तिक २०८३, शनिबार

लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको तयारी पूरा, प्रतियोगिताहरूमा पुरस्कारै पुरस्कार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही (दाङ), २ फागुन । भोलिदेखि दाङको घोराहीमा सुरू हुने ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ को तयारी पूरा भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ को झिगौरामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक मुल समितिले जनाएको छ । समितिले महोत्सवस्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर तयारी पूरा भएको जानकारी दिएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ हुने महोत्सवको भौतिक निर्माणको काम अन्तर्गत, मूल मञ्च, स्टल निर्माण, गेट निर्माण, बाल उद्यान निर्माणलगायत सम्पूर्ण तयारी पूरा भएको आयोजक मुल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिए ।

यस्तै उद्घाटनपूर्व हुने शोभायात्राको तयारी पनि पूरा भएको उनले जानकारी दिएका छन् । महोत्सवकोे उद्घाटन सञ्चार तथा सुचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले गर्ने जानकारी पनि उनले दिएका छन् ।

महोत्सवको उद्घाटनपूर्व बिहान १० बजेदेखि ट्राफिक चोकमा जम्मा भएर शोभायात्रा गरिने र दिउँसो १ बजे महोत्सवको उद्घाटन गरिने छ ।

महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाको लघु तथा घरेलु उद्योगबाट उत्पादित सामग्री, कृषि सामाग्री, हस्तकला सामाग्रीहरूको प्रदर्शनीका लागि नि:शुल्क रूपमा स्टलहरू उपलब्ध गराएको आयोजकले जनकारी दिएको छ । सम्बन्धित जिल्लाको नेपाल घरेलु तथा साना उद्योग महासंघको सिफारिसमा नि:शुल्क रूपमा स्टलहरू उपलब्ध गराइने र जसकालागी महोत्सवमा एक सय स्टलहरू कृषि, लघु तथा घरेलु उद्योगहरूका लागि व्यवस्थापन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका वरिष्ठ उपाध्यक्ष लब अधिकारीले जानकारी दिए ।

महोत्सवमा स्थानीय कृषकहरूले उत्पादन गरेको कृषि सामाग्रीको प्रदर्शनी प्रतियोगिता हुने भएको छ । कृषि ज्ञान केन्द्र घोराहीसँगको समन्वयमा कृषि सामग्री प्रदर्शनीको प्रतियोगिता हुने र प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कृषहरूलाई क्रमश: ४ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

महोत्सवमा जिल्लास्तरीय लोकदोहोरी गीत प्रतियोगिता र विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगिता हुने छ । महोत्सवमा हरेक दिन जिल्लास्तरीय लोकदोहोरी गीत प्रतियोगिता र विद्यालय तथा संघसंस्थास्तरीय लोक नृत्य प्रतियोगिताहरू हुने छ । प्रतियोगितामा उत्कृष्ट हुने समूहहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

महोत्सवका लागि प्रतिव्यक्ति एक सय रूपैयाँ, ग र घ वर्गका अपांगता भएकाहरूका लागि प्रतिव्यक्ति ५० रूपैयाँ, पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूका लागि परिचयपत्रका आधारमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।