
काठमाडौं, २ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभित्रका र बाहिरका शन्तिहरु देश देश बर्बाद पार्न लागिपरिरहेका बताएका छन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशमा स्थिरता कायम हुन नदिन अनेक प्रकारका षड्यन्त्र भइरहेको बताए ।
अध्यक्ष ओलीले नेकपा एमाले देशको पाले भएको भन्दै देशको रक्षाका लागि एमाले सदैव खडा रहेको बताए । सुरक्षाका लागि बसेको पालेलाई पहिला प्रहार हुने गरेको भन्दै ओलीले एमालेमाथि पनि प्रहार हुन सक्ने बताए ।
‘अनेक प्रकारका भित्रका बाहिरका अनेक शक्ति देश बर्बाद पार्न क्रियाशील छन्’ ओलीले भने, ‘सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई प्रहार गर्छ । एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ,’ अध्यक्ष ओलीले भने ।
ओलीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउनु सफलताको कुरा भएको भन्दै एमालेसँग बहुमत नरहेको अवस्थामा अहिलेको स्थिति नफेरिएला भन्न नसकिने धारणा राखे । उनले मुलुकमा स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको र संसद्को बनावट नै अस्थिरताको कारक बनेको जिकिर गरे ।
ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा कहिल्यै गलत हुन सक्ने धारणा राखे । त्यस्तै ओलीले पार्टीको मिसन ग्रासरुट अभियानका क्रममा तल्लो तहसम्म एमालेको संगठन क्रियाशिल हुने जिकिर गरे । आगामी स्ववियु निर्वाचनमा देशैभरीका क्याम्पस अनेरास्ववियुमय बनाउन उनले निर्देशन दिए ।















प्रतिक्रिया