१ कार्तिक २०८३, आइतबार

बकैया कला साहित्य महोत्सव हुने, १० जना स्रष्टालाई सम्मान गरिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २ फागुन । मकवानपुरको साहित्यमा क्रियाशील संस्था झरना साहित्यिक परिवारको ३०औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ फागुन ८ र ९ गते हुने भएको छ । बकैया गाउँपालिका ७ को जनक माध्यामिक विद्यालय भीरकोटमा हुने वार्षिकोत्सवमा विभिन्न क्षेत्रका १० जना स्रष्टालाई सम्मान गर्न लागिएको झरनाले जनाएको छ ।

झरनाले हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै यस वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानको जानकारी गराएको हो । यस वर्षको होमनाथ-टीकामाया प्रतिभा सम्मान २०७९ बाट डा. जीवेन्द्र देव गिरी सम्मानित हुने भएका छन् । गिरीलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।

यसैगरी, साहित्यको मुक्तक विधातर्फ सरु भक्तलाई सम्मान गरिने भएको छ । उनलाई साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेको शिव-सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट सम्मानित गरिने भएको हो । उक्त सम्मान नगद १५ हजार ५ सय ५५ रहेको झरनाले जनाएको छ ।

जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने नवराज शर्मालाई बाबुलाल-भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ राशीको रहेको उक्त पुरस्कार साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका हुन् ।

यसैगरी पत्रकारितको माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्‍याएको भन्दै पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्यलाई गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ । उक्त सम्मानको राशी नगद ११ हजार १ सय ११ रहेको छ । उक्त पुरस्कार गौतमको माता नन्ददेवी गौतमले स्थापना गरेकी हुन् ।

त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट अमला अधिकारी, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट अनिता न्यौपाने, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेको सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट कृष्ण प्रसाद चौँलागाई र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेको खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबीलाई सम्मान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । उनीहरुलाई जनही नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।

त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार कवि स्वस्तिका दाहाललाई प्रदान गरिने भएको छ । यो पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् । बकैया गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा भएको साहित्यिक गतिविधिको आधारमा झरना–महेन्द्र बाल साहित्य समिति र प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई सम्मानपत्र प्रदान गरिने झरना साहित्यिक परिवारका सचिव उपासकले बताए ।

उनका अनुसार पहिलो दिन रचना वाचन र चित्रकला प्रतियोगिता, बकैया विशेष रचना वाचन लगायत कार्यक्रम हुनेछ । यसैगरी, कला साहित्य महोत्सवको दोस्रो दिन नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक वहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचनरगायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम हुने झरनाले जनाएको छ ।