
काठमाडौं, १ फागुन । आज सोमबार राजनीतिक घटनाक्रमहरू सामान्य रहे । तर, एकजना ठेकेदारबाट यातायात मजदुर कुटिएको विषयले उग्र रूप लिएको छ ।
काठमाडौंको नयाँ बसपार्क निर्माणको ठेक्का पाएको ल्होत्से बहुउद्देश्यीय कम्पनीका प्रबन्धकले यातायात मजदुरमाथि हातपात गरेको भन्दै यातायात व्यवसायी आन्दोलित भए । आन्दोलित व्यवसायीमाथि प्रहरीले दुर्व्यवहार गर्दा घटनाले उग्र रूप लिएको छ ।
मजदुरहरूले गरेको आन्दोलनका क्रममा माछापोखरीस्थित प्रहरीको अस्थायी बिट जलाइएको छ भने प्रहरीको दुई वटा भ्यानमा आगजनी गरी ध्वस्त पारिएको छ । सोमबार साँझ अबेरसम्म पनि आन्दोलनलाई प्रहरीले नियन्त्रणमा ल्याउन सकेको छैन ।
यसैबीच विभिन्न माग राखेर हिंसात्मक आन्दोलनमा उत्रिएका व्यवसायीहरूलाई सरकारले वार्तामा बोलाएको छ ।
हेरौँ दिनभरका अन्य घटनाक्रमहरूका मुख्य–मुख्य हेडलाइनहरू–
१. यातायात व्यवसायीको आन्दोलन : काठमाडौंको नयाँ बसपार्क निर्माणको ठक्का पाएको ल्होत्से कम्पनीका प्रवन्धकले यातायाद मजदुरमाथि हातपात गरेको भन्दै यातायात व्यवसायी आन्दोलित, प्रहरीको अस्थायी प्रहरी बिट र दुई वटा भ्यानमा आगजनी ।
२. यातायात नै बन्द : भोलिबाट काठमाडौं उपत्यकामा यातायात पूर्ण रूपमा ठप्प गर्ने यातायात व्यवसायीको निर्णय, यातायात मजदुरमाथि हातपात गर्नेलाई कारबाहीसहित आफ्ना अन्य मागहरू पूरा नभएसम्म यातायात नचलाउने भनाइ, सरकारले बोलायो वार्तामा ।
३. छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बन्ने : छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बन्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ, माओवादी आन्दोलनका विभिन्न धाराका समूह एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड ।
४. भेटघाटमा व्यस्त क्वात्रा : भारतीय विदेश सचिव विनय मोहन क्वात्राद्वारा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतसँग भेटवार्ता, दुई देशको सम्बन्ध, सहयोग आदान प्रदानलगाय विषयमा छलफल ।
५. थपिए केन्द्रीय सदस्यहरू : राष्ट्रिय स्वतन्त्र पार्टीले थप्यो १६ जना केन्द्रीय सदस्य, केन्द्रीय समिति २४ सदस्यीयबाट पुग्यो ४० सदस्यीय ।
६. पूर्वसहमति कार्यान्वयन भए सरकारमा जाने : तत्काल सरकारमा नजाने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, पूर्वसहमति कार्यान्वयन भए जानेबारेमा सोच्न सकिने भनाइ ।
७. गठबन्धन भत्किन्छ : फागुन १० गतेभित्र वर्तमान सत्ता गठबन्धन भत्किने नेपाली काँग्रेसका महामन्त्री गगन थापाको ठोकुवा, निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि अर्को गठबन्धन हुँदा जनतामा नैराश्यता छाएको भनाइ ।
८. टर्कीएलाई सहयोग : भूकम्पग्रस्त टर्कीएमा नेपालले पठायो २० टन बढी राहत सामग्री, राहतमा औषधी, लत्ताकपडा पठाइएको परराष्ट्र मन्त्रालयको भनाई ।
९. वीरेन्द्रनगर तनावग्रस्त : आइतबार सुर्खेतको वीरेन्द्रनगरमा बसको ठक्करबाट जाजरकोटको छेडागाड–६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रदर्शन सोमबार पनि जारी, स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीद्वारा चार राउण्ड अश्रृग्यास प्रहार ।
१०. बिदा खारेज गर्नुपर्छ : जनयुद्ध दिवस खारेजको माग गर्दै सोमबार काठमाडौंमा विरोध प्रदर्शन, जनयुद्द दिवस नेपाल र नेपालीका लागि कालो दिन भएकाले सार्वजनिक बिदा खारेज गर्नुपर्ने माग ।
११. अमेरिकीहरूको नेपालमा दौडधूप : अमेरिकी सहायक उपविदेशमन्त्री अफरिन अख्तर आइपुगिन् काठमाडौं, इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै नेपाली सेना र सरकारी अधिकारीहरूसँग छलफल गर्ने ।
१२. एमालेमा प्रवेश : लोकतान्त्रिक समाजवादी पार्टीको जनसंगठन लोकतान्त्रिक युवा संघका केन्द्रीय सदस्य रञ्जित कुमार सिंह नेकपा एमालेमा प्रवेश, महासचिव शंकर पोखरेलले पार्टीमा गरे स्वागत ।
१३. छोरा बुहारीले नै गरे हत्या : तनहुँको बन्दीपुरमा आफ्नै आमाको हत्या आरोपमा छोरा र बुहारी पक्राउ, बन्दीपुर गाउँपालिका–३ सेराटार बस्ने ८४ वर्षीय माया सर्किनीको हत्या गर्ने ४७ वर्षीय छोरा राजकुमार सार्की र ३५ वर्षीय बुहारी शुसिला मजाकोटी पक्राउ ।
१४. भूकम्पले लियो हजारौँको ज्यान : टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गएको भूकम्पमा परी हालसम्म ३६ हजार भन्दा धेरैको मृत्यु, सिरियामा मृत्यु हुनेको संख्या ४ हजार ५ सय ७४ भन्दा धेरै ।
१५. नयाँ प्रशिक्षक नियुक्त : नेपाली राष्ट्रिय भलिबल टीमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट नियुक्त, नेपाल भलिबल संघ र ब्रान्टबीच ६ महिने सम्झौता ।















प्रतिक्रिया