
कैलाली, १ फागुन । कैलालीका पत्रकार लोकबहादुर चौधरी (लक्की) पुरस्कृत भएका छन् ।
गोरखापत्र दैनिकमा उपसम्पादकका रुपमा कार्यरत पत्रकार चौधरीलाई यदु स्मृति प्रतिष्ठानले यस वर्षको ‘यदु स्मृति पत्रकारिता’ पुरस्कारबाट पुरस्कृत गर्न लागेको हो ।
२०५३ देखि कैलालीबाट पत्रकारितामा संलग्न चौधरी कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकोमा उच्च कदर गरी पुरस्कार दिने निर्णय गरिएको पुरस्कार सिफारिस समितिका सदस्यसचिव रुद्र खड्काले जानकारी दिए ।
थारु भाषाको प्रथम दैनिक पत्रिका ‘हमार पहुरा’ का सम्पादक प्रकाशक रहेर कैलालीबाट पत्रकारिता गरेका पत्रकार चौधरीले २०५९ चैत २९ देखि तत्कालीन थारु भाषाको साप्ताहिक पत्रिका ‘पहुरा’ साप्ताहिक प्रकाशन गरेका थिए ।
रू. २० हजार रुपैयाँ राहीको पुरस्कार यही फागुन २१ गते यदु स्मृति दिवसका अवसरमा प्रदान गरिने छ ।
तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव रहेका यदु गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो ।















प्रतिक्रिया