
उदयपुर, १ फागुन । सुख्खायामका बेला हुन सक्ने सम्भावित आगलागीको घटनालाई नियन्त्रण गर्न उदयपुरमा सोमबार आगलागी नियन्त्रणको पूर्व अभ्यास गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा सुरक्षा निकायले आगो लाग्दा नियन्त्रण गर्ने विधिको विषयमा आगोलागी नियन्त्रण गर्ने अभ्यास गरेका हुन् ।
सुरक्षा निकायले घर, जंगल, भान्छाकोठा र व्यक्तिको शरीरमा आगो लाग्दा नियन्त्रण गर्ने र घाइतेको उद्धार गर्ने बिधिको विषयमा चौदण्डीगढी नगरपालिका ६ बेल्टारस्थित ज्योति माध्यमिक विद्यालयको परिसरमा अभ्यास गर्दै चेतनामुलक सन्देश प्रदर्शन गरेको हो ।
शसस्त्र प्रहरी नम्बर ५ गण उदयपुर मातहतको सुरक्षा बेसक्याम बेल्टार र जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय बेल्टारका सुरक्षाकर्मीले आगलागी नियन्त्रणको अभ्यास गरेका थिए । तीन वटा खरको छाना भएको टहरामा लगाइएको आगो फायर ब्याग बोकेका सुरक्षाकर्मी र दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।
सुरक्षा निकायलाई विपद व्यवस्थापनका लागि तयारी अवस्थामा राख्नाका साथै समुदायस्तरमा सुरक्षितरुपमा आगलागी नियन्त्रण गर्ने ज्ञान, शीप र सन्देश प्रवाह गराउन नमुना अभ्यास गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
कार्यक्रम जिल्ला विपद ब्यबस्थापन समिती उदयपुरको आयोजना, सशस्त्र प्रहरी बल नेपाल नं ५ गण हेडक्वाटर उदयपुरको संयोजन र चौदण्डीगढी नगरपालिका, पशुपती प्रसाद गण बोक्से तथा जिल्ला प्रहरी कार्यालय उदयपुरको सह आयोजनामा सम्पन्न गरिएको हो ।















प्रतिक्रिया