१ कार्तिक २०८३, शनिबार

मुस्कानसहितको सेवा दिन कर्मचारीलाई निर्देशन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले मुस्कानसहितको सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज आयोजित काठमाडौँ उपत्यकामा यातायात व्यवस्था तथा सेवा कार्यालयहरुको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्री श्रेष्ठले सेवाका लागि कार्यालय आउने सेवाग्राहीलाई मुस्कानसहितको सेवा प्रदान गर्न सबै कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

कार्यालयमा काम गर्न आउने जनताहरु उदास भएर होइन खुसी भएर फर्कनुपर्ने अवस्थाको सृजना हुनुपर्ने भन्दै मन्त्री श्रेष्ठले कार्यालय प्रमुखहरुलाई आफ्नो कार्यालयमा सोहीअनुसारको व्यवस्थापन गर्न निर्देशन दिए । यातायात क्षेत्रमा आम जनताको गुनासो अत्यधिक रहेको भन्दै मन्त्री श्रेष्ठले नियमित काम हुँदा पनि गुनासाहरू किन बढेको भन्नेतर्फ सचेत भएर काम गर्नका लागि कर्मचारीहरू चनाखो हुनुपर्ने बताए ।

‘हामीले नियमित जनतालाई सेवा दिने काम गरेका छौँ, तर हाम्रा कार्यालयहरूमा किन जनगुनासो बढी भए ? यो सोचनीय विषय छ, हामीमा भएका कमजोरीलाई सच्याउँदै लैजानुपर्छ र जनतालाई केन्द्रमा राखेर काम गर्नुको कुनै पनि विकल्प छैन्,’ मन्त्री श्रेष्ठले भने ।

राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार र काम नगर्ने कर्मचारीलाई दण्डित गर्ने तयारी मन्त्रालयले गरिरहेको उनले जानकारी दिए । यातायातको क्षेत्रमा आवश्यक प्रदेशका ऐन, कानुन, कार्यविधि निर्माणका लागि मन्त्रालय लागिसकेको भन्दै जनताले ट्रायल पास गरेको केही दिनमानै ‘स्मार्ट लाइसेन्स’ पाउनेगरी काम गर्न आफूहरूले तयारी गरेको उल्लेख गरे ।