१ कार्तिक २०८३, शनिबार

चिकित्सकमाथि प्रहरीद्वारा भएको आक्रमण अशोभनीय र दु:खद छ : गगन थापा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको सवारीका लागि बाटो खाली गर्ने क्रममा चिकित्सकमाथि आक्रमण हुनु अशोभनीय र दु:खद घटना भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई विशेष सम्बोधन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी फर्किने क्रममा बाटो खाली गर्दा प्रहरीले चिकित्सकमाथि नै लाठी प्रहार गरेको घटनाप्रति चासो व्यक्त गर्दै थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘हिजो राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दु:खद छ । दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनपर्छ,’ महामन्त्री थापाले भनेका छन् ।

विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको बताउँदै थापाले यो शैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन् । ‘हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ । यो पटक पनि त्यस्तै हुन्छ । तर, यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ,’ दुई वटा बुँदामा सुझाव प्रस्तुत गर्दै उनले लेखेका छन् ।

राष्ट्रपति एउटा व्यक्ति नभइ संस्था भएकाले संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुनेगरी सवारी चलाउन नहुने थापाको भनाइ छ ।

यस्तो छ उनको सुझाव–

१) विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ ।

२) निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ । र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहने छु ।