
काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई अहिले सम्बोधन गरिरहेकी छिन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका प्रतिनिधि सभाको बैठक कक्षमा बसेको संयुक्त बैठकलाई राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम सम्बोधन गरेकी हुन् ।
राष्ट्रपतिले गरेको सम्बोधनको प्रतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्ने छन् । राष्ट्रपतिले सम्बोधन गरेलगत्तै आजै दुवै सदनको अलग–अलग बैठक बस्दैछ ।
त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने बताइएको छ ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।
यस्तै, सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गरेकी हुन् ।
https://youtu.be/Uu5hcGzLXnA















प्रतिक्रिया