
काठमाडौं, २७ माघ । गत माघ १ गते पोखरामा भएको यति एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुप्रति तथानाम भन्ने व्यक्तिलाई प्रहरीले पहिचान गरेको छ ।
जहाज दुर्घटनामा मृत्यु भएकाहरुप्रति सामाजिक सञ्जालमार्फत तथानाम भन्ने इटहरीका मोहन गुरुङलाई प्रहरीले पहिचान गरेको हो । तर हालसम्म उनी पक्राउ परेका छैनन् । उनी बेलायतमा रहेका कारण पक्राउ गर्न केही समय लागेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरेर उनलाई नेपाल ल्याउने तयारी गरेको छ । उज्ज्वल श्रेष्ठ नामको नक्कली फेसबुक आइडी बनाएर उनले जहाज दुर्घटनामा मृत्यु भएका नाबालकको तस्बिरसहित राख्दै हवाई दुर्घटनामा ‘अपराधी’हरूको मृत्यु भएकामा आफूले घरमा भोज राखेको सम्म लेख्न भ्याएका थिए।
मोहनले उज्ज्वल श्रेष्ठको नक्कली फेसबुक आइडी बनाएर श्रेष्ठकै फोटो प्रयोग गर्दै अन्य व्यक्तिहरुलाई पनि गाली गर्दै आएका पाइएको छ ।
श्रेष्ठ र उनकी पत्नी एलिसा श्रेष्ठले विमान दुर्घटना भएको माघ १ गतेभन्दा पहिले नै नेपाल प्रहरीको साइबर ब्यूरोमा एक उजुरी दिएर आफूहरूको फोटो दुरुपयोग गरी आफूहरूलाई नै तथानाम गाली गर्ने गरेको, अन्य व्यक्तिहरूलाई पनि अश्लील गालीगलौज गरेको भन्दै कारवाहीका लागि निवेदन दिइसकेका थिए ।















प्रतिक्रिया