१ कार्तिक २०८३, आइतबार

बहिनीको उपचारका लागि गीत गाउँदै हिँडेका रोशन

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । तनहुँका २२ वर्षीय रोशन नेपाली काठमाडौंका विभिन्न स्थानमा गीत गाइरहेका भेटिन्छन् ।

मानिसहरुको बाक्लो उपस्थिति हुने पशुपति मन्दिर लगायतका स्थानमा उनी आफैँ गितार बजाउँदै मिठो गीत गाइरहेका भेटिन्छन् । उनको गीत सुनेर मानिसहरुले उनलाई सहयोग पनि गर्छन । उनी पैसा कमाउनका लागि गीत गाउँदै हिँडेका भने होइनन् ।

उनी आफ्नी १७ वर्षीया बहिनीको उपचार खर्च जुटाउनका लागि गीत गाउँदै हिँडेका हुन् । उनी पाटन अस्पतालमा उपचाररत बहिनीलाई छोडेर गीत गाउँन निस्किन्छन् र केही पैसा जम्मा हुने बित्तिकै हत्तारहत्तार औषधी किनेर बहिनीको हेरचाहको लागि फेरि अस्पताल पुगि हाल्छन् ।

उनको घरको अवस्था पनि राम्रो छैन । भएको सम्पति पनि उपचारमै सकिइसकेको छ । घरमा वृद्व बुबा मात्रै छन् । अरुसंग हात फैलाउन आत्माले नदिएकाले आफूसँग भएको गायन क्षमतालाई प्रयोग गरेर उपचार खर्च जुटाइरहेको उनी बताउँछन् ।

बिहिनीलाई निको बनाएर बहिनीको हातबाट भाइटीका लगाउने रोशनको इच्छा छ ।

‘अरुसङ हात फैलाउन पनि आत्माले दिएन फेरि बहिनीको नाजुक अवस्था त्यतिकै छाड्न मनले दिएन। मैले जानेको यहि अलिअलि गुनगुनाउन हो त्यसैले बाध्यता भनौं या मेरो लाचारीपन, यो बिकल्प रोज्न बाध्य भएँ। अब आउने भाईटीकामा बहिनीको हातबाट टीका लगाउने मेरो ठूलो धोको छ,’ उनी भन्छन् ।