
काठमाडौं, २६ माघ । नेकपा एमालेले भूकम्प प्रभावित देश टर्की र सिरियामा खोज, उद्धार र राहत वितरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहीबार विज्ञप्ति जारी गरी भूकम्प प्रभावित ती देशका नागरिकलाई तत्काल विपद् प्रतिकार्य, खोज, उद्धार, प्राथमिक उपचार र राहत वितरणमा जुट्न तथा आवश्यकताअनुसार राहत र पुन:स्थापनामा सहयोग गर्न सम्बद्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।
ओलीले प्राकृतिक विपद्बाट हुन गएको धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।
यही माघ २३ गते टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प र यही माघ २५ गतेसम्म गएका तीन सय १२ बढी पराकम्पनबाट दुई देशमा १५ हजारभन्दा बढीको ज्यान गएको र ठूलो संख्यामा भौतिक पूर्वाधार र जीविकोपार्जन प्रभावित भई हजारौँ परिवार घरवारविहीन भएको अवस्थाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल सरकारले विनाशकारी भूकम्पबाट प्रभावित देश टर्कीमा मेडिकल रेस्पोन्स टीमसहित न्यानो लत्ताकपडा र अत्यावश्यक राहत सामग्री पठाउने स्वागतयोग्य निर्णय गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले राहत तथा उद्दारमा समयानुकूल शीघ्र प्रतिकार्यको निकै महत्व हुने भएकाले उक्त निर्णय यथाशीघ्र कार्यान्वयनका लागि आग्रह गरेका छन् ।















प्रतिक्रिया