१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने कांग्रेसको दुराशय देखियो: केपी ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने कांग्रेसको दुराशय देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा ओलीले स्वार्थका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिएको र राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने कांग्रेसको दुराशय देखिएको बताएका हुन् । ओलीले अनिश्चय र अस्थिरताको बिउ रोप्न खोजे कांग्रेसका लागि प्रत्युपादक हुन सक्ने धारणा राखे ।

ओलीले प्रतिपक्षमा पुगे पनि कांग्रेसले प्रतिपक्षी अस्तित्व स्वीकार गर्न नसकेको र सत्ता बाहिर बस्नुपर्दा अतालिएको तर्क गरे । सत्ता बाहिर हुँदा सत्तामा बिग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग रहेको पनि उनले बताए । एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका बेला मुलुकमा आर्थिक लगायत विभिन्न समस्या देखिएको र आर्थिक सुचकांकहरु पनि कमजोर रहेको भन्दै यसको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए ।

निर्वाचनको मतपरिणाम आएपछि राजनीतिक निकाश दिन एमालेले सरकार गठनको पहल लिनु पर्ने अवस्था आएको उनले बताए । उनले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको बहस गरेर सत्ता समिकरणमाथि प्रहार गर्न खोजिएको बताए । राष्ट्रिय सहमति गर्नेभए राष्ट्रियता, विकास, सुशासन, पुर्‍याउने सवालमा सहमति गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै ओलीले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर फैसला गरेको र यसका कारण धेरै क्षति भएको बताए । असम्बन्धित व्यक्तिले दिएको निवेदनको फैसलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको भन्दै उहाँले कुनै नागरिक राज्यको प्रहारको विषय हुन नहुने बताए ।

उनले राजनीतिक मुद्धाहरु फिर्ता दिने र राजबन्दीहरुको रिहाईको बिषयलाई छिटो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । ओलीले अहिले देशको विकास र सुशासन चाहिएकाले त्यही काम गर्न वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई तलमाथि पार्न कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा नहुने धारणा राखे ।

अध्यक्ष ओलीले देशको आर्थिक अवस्था सुधारका लागि वर्तमान सरकारले काम सुरु गरिसकेको र आर्थिक समृद्धिका लागि सरकारको स्थिरता अनिवार्य रहेको बताए ।