– सुदीप अधिकारी
बर्दिया, ४ जेठ । जनताले घरदैलोमै सरकारी सेवा पाउन भनेर जिल्ला प्रशासन कार्यालय बर्दियाले संचालन गरेको एकिकृत घुम्ती सेवा शिबिरमा जिल्लाको दुर्गम गाउँ भनेर चिनिने चेपाङ्ग गाउँका ४ सय ६० घरधुरी परिवार लाभान्वित भएका छन् ।
सदरमुकमा गुलरियादेखि पूर्वउत्तरमा रहको चेपाङ्ग गाउँ रत्न राजमार्गमा पर्ने बबई नदीको किनारमा छ । सरकारी सेवा लिनका लागि यहाँबाट सदरमुकमा पुग्न झण्डै एक दिनको बाटो लाग्छ । भौगोलिक विकटतालाई मध्यनजर चेपाङ्ग गाउँमा संचालन गरिएको एक दिने एकिकृत घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयको टोलीले ८२ जनालाई नागरिकता वितरण गरेको छ ।
यसैगरी जिल्ला स्वास्थ्य कार्यालयले २ सय १५ जनाको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधी वितरण गरेको थियो । शिविरमा जिल्ला विकास समिति, जिल्ला निर्वाचन कार्यालय, जिल्ला पशुसेवा कार्यालय, आयुर्वेद स्वास्थ्य कार्यालयलगायतका सरकारी सेवा प्रदायक कार्यालयहरुबाट एकै थलोमा सेवाग्राहीहरुलाई निुशल्क सेवा प्रदान गरेका थिए ।
सेवाग्राहीले घुम्ती शिविरबाट नागरिकता, अपांगता परिचय पत्र, फोटो र औलाको छाप सहितको मतदाता नामावली संकलन, स्वास्थ्य उपचार, पशु उपचार, व्याक्तिगत घटना दर्ता तथा सिफारिस, माटो परिक्षण तथा बाली उपचार लगायतका सेवाहरु प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुवँरले जानकारी दिए ।
एकीकृत शिविरमा चेपाङ्ग गाउँका बाढीपीडितलाई विउविजनसमेत वितरण गरिएको थियो । गाउँमै सरकारी सेवा सुविधा पाउँदा आफुहरुलाई निकै खुशी लागेको स्थानियबासीले बताएका छन् । जनतालाई घरदैलोमा सहज तरिकाले सरकारी सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ एकिकृत घुम्ती सेवा शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी कुवँरले बताए ।
















प्रतिक्रिया