
काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अहिलेको कार्यकालमा सुशासन, विकास र समृद्धिका केही रेकर्डहरु बनाउने बताएका छन् ।
राष्ट्रिय शहीद दिवसका अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति यज्ञडोल सामुदायिक वन पर्या–पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनतालाई परिवर्तनको आभाष गराउनका लागि आफ्नो अहिलेको कार्यकालमा सुशासन, विकास र समृद्धिका केही रेकर्डहरु बनाउनुपर्ने बताएका हुन् ।
आफ्नो जीवनको उत्तरार्धमा सम्पूर्ण रुपमा सुशासन र विकासका निम्ती काम गर्ने प्रण गरेको उनले बताए । प्रचण्डले विस्तृत शान्ति सम्झौताका कारण अहिले नेपालको राजनीतिक प्रणाली अघि बढ्न सम्भव भएको बताए । उनले मुलुकमा शान्ति र राजनीतिक प्रणालीलाई मध्यनजर गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गरेको र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दृढ इच्छाशक्तिका कारण सम्भव भएको पनि बताए ।
उनले पहिलो पटक प्रधानमन्त्री बन्दा बिभिन्न कारणले मुलुकको परिवर्तनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्न नसकेको भन्दै अब बाँकी कामलाई अहिलेको कार्यकालमा पूरा गर्ने धारणा राखे ।















प्रतिक्रिया