काठमाडौँ, ३ जेठ । भूकम्पपीडितलाई ढुक्कसँग सुत्ने, खुला ठाउँ तथा खानपानको उचित प्रबन्ध मिलाउन सके उनीहरूमा विद्यमान मनोवैज्ञानिक त्रास धेरै कम हुने मानसिक रोगका जानकारहरूले बताएका छन् ।
मानसिक स्वास्थ्य तथा परामर्स केन्द्र (सिएमसी) नेपाल तथा मिडिया इन्टरनेसनलले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको भूकम्पपछिको मानसिक अवस्था र त्यसको व्यवस्थापन विषयक छलफलमा उनीहरूले भूकम्पको त्रासमा बाँचिरहेका लागि उनीहरूको उपचार औषधिबाटभन्दा पनि मनोवैज्ञानिक परामर्श आवश्यक भएको बताए ।
सरकार, दातृनिकाय, गैरसरकारी सङ्घसंस्थाले मनोवैज्ञानिक परामर्श दिनेतर्फ विशेष ध्यान पुर्याउनुपर्नेमा पनि उनीहरूले जोड दिए । कार्यक्रममा मानसिक रोग परामर्शदाता डा करुणा कुँवरले शङ्खलाबद्ध भूकम्पका कारण महिलामा डर, चिन्ता र सुत्दा पनि भूकम्पको त्रास रहेको बताउँदै घर तथा कार्यालयमा व्यवस्थापनको जिम्मेवारी पाएका महिलालाई दैनिक कार्य नियमितरुपमा सम्पादन गर्ने वातावरण बनाउन जरुरी भएको बताउनुभयो ।
अर्का मानसिक रोगका जानकार डा कपिलदेव उपाध्यायले महिला बालबालिकामा विद्यमान त्रास स्वाभाविक प्रतिक्रिया भएको बताउँदै अहिलेको त्रास दुई/चार महिनापछि स्वत हराएर जाने उल्लेख गर्नुभयो ।
नेपाल मानसिक स्वास्थ्य प्रतिष्ठानका अध्यक्ष नीरप्रकाश गिरिले भूकम्पपीडितको पीडा हटाउन आवास तथा खानपानको समुचित व्यवस्था गर्नसकेमा उनीहरूको चिन्ता घट्ने बताउनुभयो । रासस















प्रतिक्रिया